गुन्डुमा कांग्रेस–नेकपा नेताको दौडधुप, प्रदेशमा ३ दलबीच सत्ता समीकरणको गोप्य खेल

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१ जेठ, काठमाडौं । शनिबार कांग्रेस सभापति गगनकुमार थापाले एमालेसँगको सहकार्य तत्काल टुट्ने सम्भावना नरहेको बताए ।

कांग्रेस सभापतिमा निर्वाचित भएपछि पहिलो पटक सुदूरपश्चिम प्रदेश आएका थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि सत्ता समीकरणबारे ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ मा स्पष्ट पारे ।

‘अहिले सरकारबारे निर्णय गर्ने कुरा छैन । पछि एमालेसँग सबै प्रदेशबारे थप छलफल हुन सक्छ,’ सभापति थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरूलाई सँगै राखेर भनेका थिए, ‘समग्र प्रदेशबारे छलफल भएर हुने निर्णय सबैले मान्नुपर्छ ।’

सभापति थापाको सन्देश र आगामी कार्ययोजना बोकेर मंगलबार कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र सह-महामन्त्री उदयशमशेर राणा पुनः एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका थिए ।

कांग्रेस कर्णालीका सभापति ललितजंग शाही, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही लगायतसँग कुरा गर्ने क्रममा शर्माले प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे एमालेका अध्यक्षसँग कुरा गर्ने बताएका थिए ।

गुण्डुमा मंगलबार साँझ कांग्रेस-एमाले सहकार्य निरन्तर राख्ने तर केही प्रदेशमा सरकार हेरफेर गर्नेबारे छलफल भएको थियो ।

कांग्रेसका दुई पदाधिकारीले पूर्वसहमति अनुसार प्रदेश सरकारहरूको आलोपालो गर्ने बेला भएकोबारे जानकारी गराएका थिए ।

कांग्रेस सभापति तथा पदाधिकारीसँग सत्ता सहकार्यको औपचारिक छलफल हुनुभन्दा पहिले ओलीसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा संयोजकसहितका पदाधिकारी तथा अन्य नेताहरूले तारन्तार छलफल तथा संवाद गरिसकेका थिए । ओलीले आफू एक्लैले भन्दा पनि पार्टीका अन्य पदाधिकारी तथा नेताहरूसँग छलफल गरेर नेकपासँगको सहकार्यबारे आधिकारिक निर्णय सुनाउने बताएका थिए ।

नेकपासँग निरन्तर छलफल भइरहेकोबारे जानकारी पाएपछि पछिल्लो समय कांग्रेसले पनि ओलीसँगको भेटघाट र छलफललाई तीव्रता दिइरहेको छ ।

बिहीबार मात्रै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । उनीहरूबीच करिब ३० मिनेटभन्दा बढी समय छलफल भएको थियो । छलफलमा ओलीको स्वास्थ्य अवस्था, कांग्रेस–एमालेको सहकार्य, सुदूरपश्चिम प्रदेशको राजधानी कार्यान्वयनको अवस्था र आगामी कार्यदिशाबारे कुरा भएको थियो ।

ओली प्रतिपक्षी दलहरू कांग्रेस र नेकपासँगै सहकार्य गरेर अघि बढ्न खोजिरहेको स्रोतको भनाइ छ ।

‘एमाले अध्यक्ष ओलीसँग कांग्रेस र नेकपाका नेताहरूको निरन्तर छलफल भइरहेको छ । तीनै दलहरू एक भएर अघि बढ्ने विषय सहमति नजिक छ’, उच्च स्रोतले भन्यो, ‘छिट्टै प्रदेशहरूमा कांग्रेस, एमाले र नेकपाको सरकार बन्न सक्छ ।’

गुण्डुमा ओलीसँग भइरहेको छलफललाई संकेत गर्दै कांग्रेस सभापति गगन थापाले पनि धनगढीमा तत्काल कांग्रेससँग एमालेको सहकार्य कायम रहने र बजेटपछि तीन दलको सहकार्य पनि हुनसक्ने संकेत गरेका थिए ।

बिहीबार पनि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहीलाई ओलीले कांग्रेस सभापतिसँग फेरि छलफल गर्ने र प्रदेश सरकारहरूबारे केही निर्णय हुनसक्ने संकेत गरेका थिए ।

‘कांग्रेस सभापति काठमाडौं पुगेपछि यस विषयमा थप छलफल हुन्छ,’ ओलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहलाई भनेका थिए, ‘तीन दलहरू मिलेर पनि सरकार बनाउनु पर्ने अवस्था हुनसक्छ ।’

भेटमा एमाले अध्यक्ष ओलीलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले प्रदेशको राजधानी कार्यान्वयनमा भइरहेको समस्याबारे जानकारी गराएका थिए । उनले कांग्रेस-एमालेको सहकार्य भइरहेको बेला राजधानी धनगढी बनाउन नेकपा पनि तयार भइरहेको भन्दै राजनीतिक सहमतिका आधारमा अगाडि बढ्नुपर्नेबारे छलफल अघि बढाएका थिए । यस विषयमा अध्यक्ष ओलीले थप छलफल गर्ने बताएका थिए ।

एमाले अध्यक्ष ओलीले कांग्रेसका नेताहरूसँग मात्रै होइन, नेकपाका नेताहरूसँग पनि अहिले मुलुकलाई गति दिन पुराना दलहरू एक ठाउँमा उभिन आवश्यक रहेको बताएका थिए ।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त आफैँ र आफू निकटबाट ओलीलाई पार्टी एकतासम्मको छलफलका लागि तयार भइसकेकोबारे जानकारी पठाइसकेका छन् । कम्युनिष्ट एक नहुँदा अब भारतमा जस्तै नेपालमा पनि कम्युनिष्टको भविष्य नभएको सन्देशसहित प्रचण्डले ओलीलाई मनाउने प्रयास गरिरहेका छन् ।

एमालेसँग नेकपाको निकटता बढ्दै गएपछि कांग्रेसले पनि एमाले र नेकपा दुवैसँग समानान्तर छलफल अघि बढाइरहेको छ ।

‘कांग्रेस सभापति थापाले केही समयअघि नेकपा संयोजक प्रचण्डलाई फोन गर्नुभएको थियो ’ नेकपाको उच्च स्रोतले भन्यो, ‘प्रचण्डले एमालेसँग छलफल चलिरहेकोबारे कुरा गर्दा थापाले तीनै दल मिलेर अघि बढ्न प्रस्ताव गर्नुभएको थियो । ’

नेकपा संयोजक र एमाले अध्यक्ष दुवैलाई कांग्रेस सभापति थापाले तीनै दल मिलेर अघि बढ्न सकिने बताइसकेका छन् । यता ओली र प्रचण्ड कांग्रेसलाई बाहिरै राखेर नेकपा र एमालेको मात्रै सरकार बनाउने विषयमा पनि छलफल गरिरहेका छन् । तर त्यसरी सबै प्रदेशमा सरकार बन्न नसक्ने भए पनि तीन दलहरू नै एक ठाउँमा आउन सक्ने सम्भावना रहेको उच्च स्रोतको दाबी छ ।

‘अध्यक्ष ओलीसँग कांग्रेससँगकै समीकरण अगाडि बढाउने, नेकपासँग सहकार्य गर्ने र तीनै दलहरू मिलेर प्रदेशमा सरकार बनाउने भन्ने विषयमा छलफल भइरहेका छन्,’ स्रोत भन्छ, ‘तीन दल मिलेर प्रदेशमा सरकार बनाउने सम्भावना बढी छ । त्यसबाहेक नेकपासँग सहकार्य गर्ने वा कांग्रेसलाई नै निरन्तरता दिने भन्ने पनि हुनसक्छ ।’

अहिले सातमध्ये चार प्रदेशमा कांग्रेस नेतृत्वको सरकार छ । जनमत पार्टीले समर्थन फिर्ता लिए पनि मधेशमा कांग्रेस नेतृत्वको सरकार जोगिएको छ । बाँकी ६ प्रदेशमध्ये एमाले र कांग्रेसबीच बराबरीको भागबण्डा छ ।

अहिले कांग्रेस नेताहरूले कोशी र कर्णालीमा कांग्रेसको मुख्यमन्त्री हुनुपर्ने बताउँदै आएका छन् । अहिले यी प्रदेशमा एमालेका मुख्यमन्त्री छन् । कांग्रेससँगको सहकार्य निरन्तर अघि बढ्ने अवस्थामा बागमती, गण्डकी र सुदूरपश्चिममा एमालेको सरकार बन्न सक्नेछ ।

एमाले र नेकपाबीच गठबन्धन अथवा एकता भए चार वटा प्रदेशमा सरकार बन्ने देखिन्छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा फेरि कम्युनिष्ट सरकार बन्नेछ । तर मधेश, बागमती र लुम्बिनी प्रदेशमा नेकपा र एमाले मिल्दैमा सरकार बन्ने अंकगणित पुग्ने अवस्था देखिँदैन ।

नेकपासँगै सहकार्य गर्ने मुडमा पुगेका ओली नेकपासँग मात्रै सहकार्य गर्दा सबै प्रदेशमा सरकार बन्न नसक्ने र संघीय सरकारसँग जुध्न पछि ठूला तीन प्रतिपक्ष एक ठाउँमा उभिनुपर्ने संकेत गर्दै तीन दलीय सरकारको विषयमा दुवै पार्टीका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।

आफूलाई भेट्न पुगेका कांग्रेसका नेताहरूलाई उनले कांग्रेस सभापति काठमाडौं पुगेलगत्तै भेट्ने र २/४ दिनभित्रै सबै कुरा टुंगो लगाउनुपर्ने बताउँदै आएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी