४ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई समय घर्किँदै गएको भन्दै चेतावनी दिएका छन्। उनले आफ्नो ट्रुथ सोसलमार्फत् समय निकै छोटो रहेको भन्दै छिटो अघि बढ्न चेतावनी दिए।
‘तिनीहरू छिटो अघि बढ्नु राम्रो हुन्छ, नत्र उनीहरूको निम्ति केही पनि बाँकी रहने छैन’, उनले आफ्नो ट्रुथ सोसलमा लेखेका छन्, ‘कुनै पनि कुराको समय हुन्छ।’
उनको यो सन्देश युद्धविरामको उपयुक्त प्रस्ताव ल्याउन र अमेरिकाले राखेको प्रस्तावमा सहमति जनाउन दबाबमुलक आग्रहमा केन्द्रित देखिएको छ। उता, इरानी सञ्चारमाध्यमहरूले द्वन्द्व अन्त्यका लागि तेहरानको पछिल्लो प्रस्तावमा अमेरिकाले उपयुक्त प्रतिक्रिया नदिएको आरोप लगाएका छन्।
गत अप्रिलको सुरुमा युद्धविराम घोषणा हुनुभन्दा ठीक अघि ट्रम्पले इरान सम्झौतामा सहमत नभए पूरै सभ्यता समाप्त हुने चेतावनी दिएका थिए। राष्ट्रपति ट्रम्पले यसै हप्ताको सुरुमा तेहरानका मागहरूलाई पूर्ण रूपमा अस्वीकार्य गर्दै युद्धविराम गम्भीर संकटमा रहेको चेतावनी दिएका थिए।
दुई देशबीचको मुख्य विवादको विषय आणविक कार्यक्रम रहेकोमा, ट्रम्पले शुक्रबार इरानले आफ्नो आणविक कार्यक्रम २० वर्षका लागि स्थगित गरेमा आफूले स्वीकार गर्ने संकेत गरेका थिए। यसले आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गर्नुपर्ने आफ्नो पुरानो मागबाट उनी केही पछि हटेको प्रस्ट पार्छ।





