प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न कामु प्रधानन्यायाधीशको आदेश

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

 ४ जेठ, काठमाडौं । कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले अदालत प्रशासनले रिट निवेदनहरू दर्ता नगरी न्यायको बाटो अवरोध गरेको ठहरसहित आजै दिउँसो १ बजेभित्र सबै निवेदन दर्ता गर्न आदेश दिएकी छन् । सँगै सबै रिट निवेदन र दरपीठ आदेशउपरका निवेदन अनिवार्य रूपमा दर्ता गरी भोलि पेशी चढाउन भनिएको छ ।

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी, अधिवक्ता डा. प्रेमराज सिलवाल र अधिवक्ता गीता थापाले दिएका निवेदन तथा दरपीठविरुद्धको सुनुवाइमा उनले कानुन बमोजिम दर्तामा आएका रिट निवेदन दर्ता गर्न भनेकी हुन् ।

चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेपछि कानुन व्यवसायीले गुनासो गरेका थिए ।

मल्लले कानूनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्यायप्राप्तिको बाटोको अवरोध र अदालतको जनआस्थामाथिको अविश्वास बढाउने व्यवहार एवं प्रयास भएको ठहराएकी छन् ।

संवैधानिक प्रावधानअनुरूप दायर निवेदन र दरपीठविरुद्धका निवेदनलाई मुख्य रजिष्ट्रार र रजिष्ट्रारले अलमल्याउन खोज्नु न्यायपालिकाको स्वच्छता, निष्पक्षता र स्वतन्त्रतामाथिको अकर्मण्यता भएको आदेशमा उल्लेख छ ।

मुख्य रजिष्ट्रारको ध्यानाकर्षण गराउँदा ‘प्रधान न्यायाधीशमा सिफारिस हुनुभएका माननीय न्यायाधीशले नै निर्देशन दिएकाले’ ती निवेदनहरू दर्ता नगरिएको खुल्न आएको भन्दै आदेशमा न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधानन्यायाधीशलाई दिएको स्मरण गराइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्