५जेठ,काठमाण्डौ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रियालाई ढिलाइ नगरी वस्तुनिष्ठ र द्रुत गतिमा अगाडि बढाउन माग गरेका छन् ।
रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले कार्यतालिकाबमोजिम उजुरीकर्ताहरूसँगको छलफल र प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना सुन्ने कार्यलाई तीव्रता दिनुपर्ने बताए ।
सांसद डा लेखजंग थापाले प्रस्तावित पदाधिकारीहरूको कार्ययोजना कागजमा मात्रै सीमित नभई त्यसको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले प्रस्तावित प्रधान न्यायाधीश डा मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रियालाई थप विलम्ब नगरी वस्तुनिष्ठ र द्रुत गतिमा अगाडि बढाउन माग गरेका छन् ।
मङ्गलवार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीसहित सांसदहरू डा लेखजंग थापा र राजीव खत्रीले सुनुवाइ प्रक्रियालाई प्रभावकारी बनाउन विभिन्न सुझाव प्रस्तुत गरे । बुर्लाकोटीले प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रियालाई थप विलम्ब नगरी अगाडि बढाउनुपर्नेमा जोड दिए ।
बैठकमा बोल्दै प्रमुख सचेतक बुर्लाकोटीले कार्यतालिका बमोजिम नै उजुरीकर्ताहरूसँगको छलफल र प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना सुन्ने कार्यलाई तीव्रता दिनुपर्ने बताए। उनले उजुरीकर्ताहरूलाई पालैपालो बोलाएर छलफल गर्नुपर्ने र सोही क्रममा प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना समेत सुन्नुपर्ने प्रश्ताव गरे। समितिमा प्राप्त भएका उजुरीहरूमध्ये कतिपयमा गम्भीर त्रुटिहरू रहेको उल्लेख गर्दै उनले ती विषयमा छलफलकै क्रममा स्पष्ट हुनुपर्ने धारणा राखे ।
सुनुवाईको नतिजा पहिले नै सुनिश्चित रहेको भन्ने खालका टिप्पणीहरूको खण्डन गर्दै उनले वस्तुनिष्ठ छलफलका आधारमा मात्र निष्कर्षमा पुग्नुपर्ने बताए । छलफलका क्रममा गम्भीर विषयहरू देखिए सिफारिस गर्ने निकायसम्म पुगेर थप सञ्चार गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ पनि उनले सचेत गराए । प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै प्रमुख सचेतक बुर्लाकोटीले जहाँ बाधा पर्छ, त्यहीँ मात्र रोकिएर समस्याको समाधान खोज्न समितिलाई आग्रह गरे।
रास्वपा सांसद डा लेखजंग थापाले प्रस्तावित पदाधिकारीहरूको कार्ययोजना कागजमा मात्रै सिमित नभई त्यसको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिए । बैठकमा प्रस्तुत कार्ययोजनाको अध्ययन गर्दै सांसद थापाले मुद्दा फर्स्यौटमा तीब्रता, डिजिटलाइजेशनको प्रयोग र न्यायिक कार्यसम्पादनको गुणस्तर सुधार जस्ता पक्षहरू सकारात्मक रहेको बताए ।
न्यायीक क्षेत्रमा गतिशीलता र संयमताको सन्तुलन आवश्यक रहेको औँल्याउँदै थापाले युवा पुस्तामा छिटो काम गर्ने हुटहुटी भएपनि निर्णय प्रक्रियामा परिपक्वता र सन्तुलन जरुरी रहेको उल्लेख गरे। उनले संसदीय सुनुवाइ समितिलाई दलीय घेराभन्दा माथि उठेर एक ढिक्का भई वस्तुनिष्ठ निर्णय लिन आग्रह गरे । सांसद थापाले समितिको कार्यप्रणालीमा सुधारको प्रश्ताव गर्दै आगामी दिनमा प्रस्तावित उम्मेदवारहरूको कार्ययोजना कम्तीमा एक दिन अगाडि उपलब्ध गराउन माग गरे । कार्ययोजना अध्ययनका लागि पर्याप्त समय भएमा उम्मेदवारको योग्यता र योजनाबारे स्पष्ट धारणा बनाउन सहज हुने उनको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले संसदीय सुनुवाइ समितिको कार्यसम्पादनलाई प्रभावकारी बनाउँदै द्रुत गतिमा अघि बढाउनुपर्नेमा जोड दिए । सांसद खत्रीले उजुरीहरूमाथिको छानबिन र सुनुवाइ प्रक्रियालाई ‘फास्ट ट्रयाक’ मा लैजानुपर्ने धारणा राखे । बैठकमा उजुरीका लागि दिइने समयसीमाका सम्बन्धमा चर्चा गर्दै सांसद खत्रीले यसअघि १० दिनको समय निर्धारण गरिएको स्मरण गराए । सांसद खत्रीले उजुरीकर्ताहरूसँगको संवाद र उजुरीको अध्ययन प्रक्रियालाई सँगसँगै लैजाँदा काम छिटो र प्रभावकारी हुने तर्क गरे। उजुरीकर्ताहरूसँग प्रत्यक्ष छलफल र प्रतिप्रश्न (क्रस कोइसन) गर्दा विषयवस्तुको गहिराइमा पुग्न सहज हुने र समयको पनि बचत हुने उनको भनाइ थियो ।
संसदको अधिवेशन पनि जारी रहेको अवस्थामा समितिको कार्यबोझलाई मध्यनजर गर्दै उनले थप सक्रियताका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याए । उनले सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूबिच कामको गतिलाई लिएर फरक–फरक दृष्टिकोण देखिए पनि मुख्य उद्देश्य कार्यलाई समयमै सम्पन्न गर्नु नै हुनुपर्ने बताए समितिको कामलाई छिटो र पारदर्शी ढंगले निष्कर्षमा पुर्याउन सबै सदस्यहरू एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए ।





