५ जेठ, काठमाडौं । रास्वपा सांसद कृष्णकुमार कार्कीले विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपबारे अनभिज्ञता प्रकट गरेका छन् ।
आज सांसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आफूलाई केही थाहा नभएको बताए ।
जनआस्थाले सार्वजनिक गरेको समाचार के हो भन्ने प्रश्नको जवाफ दिन नचाहेका कार्कीले आफूलाई थाहा नभएको दोहोर्याइरहे ।
तर, पनि सञ्चारकर्मीले पछ्याइरहेपछि उनले भने, ‘म तपाईंहरुलाई एउटा कुरा देखाउँछु क्या ।’ त्यसपछि उनले आफ्नो कोट र टिसर्ट पूरै माथि उचालेर नांगो छाती देखाए ।
अनि सोधे, ‘कहिँनेर मेरो ट्याटु छ ?’
त्यसो भए तपाईं अब के गर्नुहुन्छ त ? भन्ने प्रश्नमा उनले ठोस जवाफ दिएनन् ।
‘प्रोसेस होला नि त, प्रमाण देखाइसके होइन ?’ कार्कीले भने ।
जुन सञ्चारमाध्यमले भिडिओ देखायो, त्यसमाथि कारवाही प्रक्रियामा जानुहुन्छ भन्ने प्रश्नमा उनले उही तर्क दोहोर्याए ।
‘तपाईंलाई मैले छाति खोलेर देखाएको होइन ? देख्नु भयो त टाटु ? अनि ?’ उनले प्रतिप्रश्न गरे ।
गाडी सिकाएको चाहिँ के हो त ?
‘यो सबै छानविन हुन्छ क्या । त्यसपछि भनुँला ।’
कार्कीले थपे, ‘म २०६७ सालदेखि नेपालमा छैन । ७१ सालतिर चरी मरेको । म चरीको केटा हो त ? यत्तिकै बोल्दिने ? ल्याउनुपरो नि प्रमाण। त्यही भएर मलाई बोल्नै मन लाग्दैन ।’
हिजो संसदमा बोल्न नाम टिपाएर पनि नबोलेको विषयमा प्रश्न गर्दा उनले जवाफ दिए, ‘म संसदमै थिएँ । तर मैले शून्य समयमा बोल्न सिग्नेचर गरेको थिइनँ । सिग्नेचर नगरेको मान्छेको नाम आउँद्यैन । तर मेरो आयो । के भएको भनेर अहिले भर्खर कुरा गरेको छु ।
यति भनेर उनी मोटरसाइकल चढेर हिँडे ।





