सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूमाथि सिर्जना गरिएको त्रासको वातावरण तत्काल अन्त्य होस् : सांसद पाठक

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

०५ जेठ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद देवराज पाठकले सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूमाथि पछिल्लो समय सिर्जना गरिएको त्रासको वातावरण तत्काल अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद पाठकले स्थानीय तह र विभिन्न सरकारी कार्यालयहरूले पत्राचारमार्फत नागरिकलाई आतङ्कित बनाउने काम गरिरहेको भन्दै कडा आपत्ति जनाएका हुन् ।

सरकारले प्राधिकरण गठन गरेर सुकुम्बासी समस्याको स्थायी समाधान गर्ने तयारी गरिरहँदा स्थानीय स्तरमा भने उठीबासको त्रास फैलाउने काम भइरहेको उनले उल्लेख गरे । उनले विधि, प्रक्रिया र मापदण्डका आधारमा समस्या समाधान गर्नुपर्ने र नागरिकलाई आतङ्कित पार्ने कार्य तत्काल रोक्न सरकारले स्पष्ट सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए ।

बैठकमा सांसद पाठकले दार्चुलाका प्रधानाध्यापक बलदेव सिंह धामीको आत्महत्या प्रकरणप्रति गम्भीर दुःख व्यक्त गर्दै उक्त घटनाले शिक्षा क्षेत्रमा व्याप्त राजनीतिक चलखेललाई उदाङ्गो पारेको टिप्पणी गरे । इमानदार व्यक्तिको आत्मसम्मानमा प्रहार हुँदा यस्तो अप्रिय घटना घटेको उल्लेख गर्दै उनले आत्महत्या दुरुत्साहन गर्ने दोषीहरूलाई हदैसम्मको कारबाही गर्न माग गरे ।

सरकारले ल्याएका नीतिगत स्पष्टता र रूपान्तरणकारी सुधारका योजनाहरू स्वागतयोग्य रहेको बताउँदै उनले नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने, सार्वजनिक सेवामा सुधार, दोहोरो करमुक्ति सम्झौताको विस्तार र डायस्पोरा लगानी भित्र्याउने नीतिहरू प्रशंसनीय रहेको धारणा राखे । तर, कमजोर प्रशासनिक संयन्त्र र कानुनी उल्झनहरू यसका लागि मुख्य चुनौती बन्न सक्ने उनको तर्क थियो ।

सांसद पाठकले आफ्नो निर्वाचन क्षेत्र दाङ–१ का समस्याहरूबारे सरकारको विशेष ध्यानाकर्षण गराउँदै भौगोलिक रूपमा तराई भए पनि यो क्षेत्र विकासमा निकै पछाडि परेको बताए । नाका क्षेत्रका सडकहरूलाई नेपालका मूल सडकसँग नजोडी नाकामा मात्र कडाइ गर्दा स्थानीय जनता आतङ्कित भएको उनले सदनलाई जानकारी दिए ।

स्वास्थ्य क्षेत्रको दयनीय अवस्थाबारे बोल्दै उनले करिब २ लाख ४० हजार जनसङ्ख्या रहेको दाङ–१ मा एउटा पनि अस्पताल नहुँदा नागरिकहरू सामान्य उपचारका लागि समेत बुटवल र नेपालगन्ज धाउनुपरेको तथ्य राखे । प्रदेश सरकारले सञ्चालन गर्न नसक्ने बताएको निर्माणाधीन ट्रमा सेन्टरको स्वामित्व अब केन्द्र सरकारले लिएर तत्काल सञ्चालनमा ल्याउनुपर्ने उनको माग थियो ।

यसै गरी, २५ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको बड्कापथ प्रगन्ना सिँचाइ योजनालाई मेलम्चीको जस्तै नियति भोग्न नदिन र राप्ती–बबई नदी कटान नियन्त्रणका लागि पर्याप्त बजेट विनियोजन गर्न पनि सांसद पाठकले सरकारसँग जोडदार माग गरे । उनले आफ्नो क्षेत्रमा प्राविधिक शिक्षाको विस्तार र पूर्वाधार विकासका लागि विभिन्न मन्त्रालयहरूमा गरिएको माग बमोजिम यस पटक न्यायोचित बजेट विनियोजन हुने विश्वास समेत व्यक्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी