रास्वपा सरकारमाथि आफन्त भर्तीको प्रश्न

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

 ५ जेठ, काठमाडौं । गत फागुन २१ गतेको चुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुमतसहित बालेन्द्र साह नेतृत्वमा बनेको सरकार पनि ‘नेपोबेबी’ कै बाटोमा हिँडेको आरोप छ  । 

प्रधानमन्त्री साह र मन्त्रीहरुको सचिवालयमा आफ्नै मान्छे भर्ती गर्ने क्रम चलिरहेकाले ‘नेपोबेबी’ को आवरणमा ‘नेपोभिनाजु’ प्रवृत्ति देखिएको हो । प्रधानमन्त्री साहका प्रमुख सल्लाहकार कुमार बेन (ब्यञ्जनकार) का दाजु सिद्धि ब्यञ्जनकार यसअघि नै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयमा कार्यरत छन् । 

अहिले उनको भिनाजुलाई पनि मन्त्रीको सचिवालयमा भित्र्याउने तयारी भइरहेको सूचना छ । बेनका काकाकी छोरीसँग विवाह गरेका राजेन्द्र बमलाई पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको सचिवालयमा नियुक्त गर्न पत्र लेखिएको अवस्था छ । उनी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को ‘प्रोजेक्ट इम्प्लिमेन्टेसन डाइरेक्टोरेट (पिआइडी)’ मा काजमा थिए । 

काज फिर्ता गरेको चार महिना बिते पनि  हाजिर भएका छैनन् । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाइप हिनामिनाको आरोपमा छानबिन गरिरहेको अवस्था अर्कोतिर छ । दुई हजार मीटर खानेपानी पाइप नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) का घरबेटी शारदा अधिकारीलाई गोप्य रुपमा बेचेको आरोप उनीमाथि लागेको छ ।

भ्रष्टाचारको अभियोग लागेका व्यक्तिलाई मन्त्रीको स्वकीय सचिव राख्न मन्त्रालयले पत्र लेखेको केयुकेएलका एक उच्च अधिकारीले बताए । जनआस्थासँगको कुराकानीमा भने,‘सरकारले भौतिक पूर्वाधार र खानेपानी मन्त्रालय गाभेपछि उनलाई त्यता लैजान लागिएको छ । मन्त्रालयबाट पत्रसमेत आइसकेको छ ।’

मन्त्रालयका सूचना अधिकारी उपसचिव ज्ञानराज लम्सालले भने आफूलाई सोबारे जानकारी नभएको बताए । अगाडि भने,‘मलाई त्यस विषयमा कुनै जानकारी छैन ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्