मधेशको सरकारमा सहभागी हुँदै एमाले, सातै प्रदेशमा यस्तो छ भागबन्डाको तयारी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

६ जेठ, काठमाडौं । मधेश प्रदेश सरकारमा नेकपा एमाले सहभागी हुने भएको छ ।

कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेको नेकपा एमालेबाट सरकारमा मन्त्री भने कोही थिएनन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेताहरूसँग गरेको छलफलपछि मधेश सरकारमा एमाले पनि ‘इन्ट्री’ हुने निश्चित भएको हो । एमालेका मधेश प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठले मधेश प्रदेशमा तीन दल एक भएर अघि बढ्ने छलफल अन्तिम चरणमा पुगेको जानकारी दिए ।

तर, अन्य मधेशवादी दललाई पनि सँगै लिएर अघि बढ्ने विषयमा कुरा भइरहेको उनले बताए । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले प्रतिपक्षी दलहरू एक ठाउँमा आउनुपर्ने निष्कर्षसहित तीनदलीय गठबन्धन बन्न लागेको संकेत उनले गरेका थिए ।

‘प्राप्त उपलब्धि जोगाउन मुख्य दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता देखिएको छ,’ मधेश सरकारबारे उनले भने, ‘एमाले पनि सहभागी हुने गरी उच्चस्तरीय तहमा छलफल भइसकेको छ । सम्भवतः एक–दुई दिनभित्रै सहमतिको टुंगो लाग्छ ।’

कांग्रेस, एमाले र नेकपाले मधेश बाहेकका ६ प्रदेशमा भागबन्डा गर्ने तयारी गरेका छन् । मधेश प्रदेशमा भने जनता समाजवादी पार्टीलाई पनि सँगै लैजाने विषयमा कुरा भइरहेको छ । अहिले मधेश सरकारमा कांग्रेसका कृष्णप्रसाद यादवले नै नेतृत्व गर्नेछन् ।

कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाउँदा जसपा, नेकपा र जनमतले विभिन्न मन्त्रालय पाइरहेका छन् । जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिइसक्दा पनि २ मन्त्री सरकारमै छन् ।

केन्द्रमा शीर्ष नेताहरूबीच भएको सहमतिपछि अब प्रदेशमा सरकार हेरफेरको चरण सुरु हुने भएको छ ।

हाल मधेश प्रदेश सभामा १०२ सदस्य कायम छन् । कांग्रेसका २२, एमालेका २४, जनमतका १२, नेकपाका १५, जसपा र लोसपा नेपालका २६ तथा नागरिक उन्मुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र राप्रपाका १–१ जना सांसद छन् ।

यसअघि मधेश प्रदेशसभामा १०७ जना सांसद थिए । लोसपाका अभिराम शर्मा र जसपाका सरोजसिंह कुशवाहा निलम्बित छन् भने जनमतका सतिशकुमार सिंह, नेकपाका भरतप्रसाद साह र रहवर अन्सारी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुँदा प्रदेश सांसदबाट राजीनामा गरेका थिए ।

मधेशमा एमाले सरकारमा पस्दा सुदूरपश्चिम प्रदेशमा नेकपाले नेतृत्व गर्ने सम्भावना बढिरहेको छ । अहिलेसम्म कांग्रेसले ४ प्रदेशको माग गरिरहेको छ । तर, कांग्रेस र एमालेले समान ३–३ प्रदेश तथा नेकपालाई १ प्रदेश दिने विषयमा अन्तिम तयारी भइरहेको उच्च स्रोतको दाबी छ ।

कांग्रेसले अहिले मधेशसहित एमालेले नेतृत्व गरेको लुम्बिनी प्रदेशमा दाबी गरेको छ । एमालेले नेतृत्व गरिरहेको कोशी र कर्णालीमा पनि कांग्रेसले दाबी गरेको छ । ती दुईमध्ये एक प्रदेश कांग्रेसले पाउने सम्भावना बढी देखिन्छ ।

एमालेले बागमती, कर्णाली र गण्डकीको नेतृत्व गर्न सक्ने नेताहरूले बताएका छन् । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा ठूलो दल रहेको सुदूरपश्चिम प्रदेशको नेतृत्वमा दाबी गरेका छन् ।

‘कांग्रेसले ४ ठाउँमा दाबी गरिरहेको छ, नेकपाले १ ठाउँ भनिरहेको छ । केही तलमाथि हुने गरी भोलिसम्म केही सहमति हुन्छ,’ एमाले उच्च स्रोतले भन्यो, ‘तीन दल मिलेर संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्ने नेतृत्वलाई लागेको छ । त्यसैका लागि सरकारमा सहकार्यको बाटो खुलेको हो ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्