६ जेठ, काठमाडौं । सोमबार बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ‘अराजकतापूर्ण गतिविधि गर्नेहरूमाथि कारबाही गरिनेछ’ भनेपछि केही नेताले ओलीलाई नै ‘पछाडि हट्न’ सुझाव दिएका छन् ।
बैठकको अध्यक्षता गर्ने क्रममा ओलीले एक घण्टा मन्तव्य राखेका थिए । त्यस क्रममा पार्टीमा राख्नुपर्ने कुराहरू सार्वजनिक रूपमा भन्दै हिँड्ने र अराजकतापूर्ण गतिविधि गर्ने नेताहरूमाथि कारबाही हुने चेतावनी दिए । ओलीले त्यसो भन्दा कतिपय नेताले उपमहासचिव योगेश भट्टराईतिर नजर लगाइरहेका थिए ।
ओलीको मन्तव्य सकिएपछि भट्टराईले राष्ट्रिय राजनीतिमा उत्पन्न भएको संकटलाई हल गर्न र जनताका बीचमा पार्टीलाई पुनर्जीवन दिनका निम्ति अध्यक्ष ओलीले एक कदम पछाडि हट्नुपर्ने आवश्यकता औँल्याए । उनले प्रश्न गरे, ‘तपाईँले यो पार्टीभित्र जित्न बाँकी के छ ? कहाँ छ ?’ ओलीले पार्टीभित्र ‘जितको साम्राज्य’ खडा गरिसकेको भन्दै अब पार्टीलाई जिताउने गरी नेतृत्वले सोच्नुपर्ने धारणा राखे ।
‘अराजकतापूर्ण गतिविधि गर्नेहरूमाथि कारबाही गरिनेछ’ भन्ने ओलीको भनाइमा भट्टराईको टिप्पणी थियो, ‘गरौँ, को–को अराजक हुन्, पहिचान गरौँ, कारबाही गरौँ ।’
सोमबारको बैठकमा ओलीको मन्तव्यपछि नेताहरूले आ–आफ्नो धारणा राख्दा समय लागेको र ओलीकै प्रस्तावबमोजिम पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको गरिने विषय अनुमोदन भएको थियो । ८ गते शुक्रवार, बिहान ११ः३० मा बस्ने गरी बैठक स्थगित गरिएको थियो ।





