विस्थापित सुकुमबासीबारे सरकारको निर्णयमा एमालेको आपत्ति

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

५ जेठ, काठमाडौं । नेकपा एमालेले विस्थापित सुकुमबासीबारे सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गुरु बरालले विस्थापित सुकुमबासीलाई २५ हजार एकमुष्ट दिने र बासको व्यवस्था आफैँ गर्नुपर्ने निर्णय त्रुटिपूर्ण भएको बताए ।

उनले भने, ‘सरकारले बिना तयारी सुकुमबासीहरूलाई आफ्ना बसोबास गरिरहेका ठाउँबाट बाहिर निकालेको छ । अनि सरकार भन्छ, यो जेठ, असार र साउन ३ महिना १५-१५ हजार रुपैयाँ पाउने छौ, यसको अर्थ एक दिनको १०० रूपैयाँले कसरी एउटा परिवार काठमाडौंको आसपासमा बाँच्न सक्छ ? यो सुकुमबासी माथि गरिएको अत्यन्त ठूलो अमानवीय हमला हो ।’

उनले सुकुमबासीहरू बसिरहेको ठाउँ नै अस्थायी भएकाले २५ हजार दिनुको अर्थ नभएको बताए ।

उनले थपे, ‘अस्थायी बसोबास त उनीहरू जहाँ बसेका थिए त्यहीँ थियो । स्थायी प्रबन्धका लागि अब सरकारले नयाँ व्यवस्था गर्नुपर्नेमा उसले अहिले जर्बजस्ती त्यहाँ बसोबास, अस्थायी बसोबास गरिरहेको ठाउँबाट बाहिर निकालेको छ । होल्डिङ सेन्टरहरूमा अत्यन्त अमानवीय ढङ्गले उनीहरू बाँचिरहेका छन् । सुत्केरी महिलाको कुपोषणको सिकार भएका छन्, युवाहरूलाई मानसिक स्वास्थ्यको समस्या भएको छ, बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । उच्च शिक्षा हासिल गर्ने युवाहरू पनि अत्यन्त अप्ठ्यारोमा छन् ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्