६ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशन केन्द्रित हुने गरी नेताहरुलाई देशभर खटाउने भएको छ । वडा, पालिका, जिल्लाको भेला/अधिवेशन गराउने गरी नेताहरुलाई जिल्ला–जिल्लामा खटाइएको छ ।
भेला र अधिवेशनको समन्वय गर्ने गरी केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, सांसद, संघीय नेतृत्व मञ्च र विभागमा रहेका नेताहरुलाई जिल्ला तोकिएको छ ।
असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय गरिसकेको रास्वपाले सबै संरचनाको अधिवेशनको मिति तोकेको छ ।
तदर्थ समिति गठन हुन नसकेका वडाको भेला जेठ २ गते गरिएको थियो । वैशाख २० गते अघि तदर्थ समिति बनेका वडाको अधिवेशन जेठ ३ गते गरिएको छ । अर्को चरणको वडा अधिवेशन जेठ १६ गतेका लागि तोकिएको छ ।
पालिका भेलाका लागि जेठ ९ गतेको समय तोकिएको छ । पालिका अधिवेशन जेठ १० र १७ गतेका लागि समय निश्चित गरिएको छ । जिल्ला अधिवेशन २३ र २४ गतेको लागि तोकिएको छ । प्रदेश अधिवेशन जेठ २६ गतेबाट सुरु गरेर असार १ गते सक्ने गरी कार्यतालिका बनाइएको छ ।
केन्द्रीय तहबाट खटाइएका प्रतिनिधिहरुलाई कार्यादेश तोकिएको छ । वडा, पालिका, जिल्ला भेला हुन नसकेका स्थानमा केन्द्रीय प्रतिनिधिले समन्वय गरेर भेला बोलाउन सहजीकरण गर्नेछन् । साथै, पार्टी संरचना नबनेको स्थानमा तदर्थ समिति बनाउने र गठन भइसकेका स्थानमा अधिवेशन गराउन समन्वय केन्द्रीय प्रतिनिधिले गर्नेछन् । वडा र पालिकामा ३० प्रतिशत मात्रै अधिवेशन भएपनि उपल्लो तहको अधिवेशन गर्न सकिने गरी रास्वपाले निर्णय गरेको छ ।
प्रतिनिधि छनोट गर्दा हरसम्भव सांसदहरुलाई आफ्नै जिल्ला तोकिएको छ । मन्त्रीहरुलाई भने महाधिवेशनको काममा लगाइएको छैन । क्षेत्र धेरै भएका जिल्लामा प्रतिनिधि पनि बढी खटाइएको छ ।
महामन्त्री कविन्द्र बुर्लाकोटीलाई गोरखा, सहमहामन्त्री विपिन आचार्यलाई दाङ, सचेतक क्रान्तिशिखा धिताललाई रोल्पा, प्रवक्ता मनिष झालाई धनुषा, सह प्रवक्ता रमेश प्रसाईलाई ताप्लेजुङ, पूर्व उपसभामुख इन्दिरा रानामगर र पूर्व सचेतक निशा डाँगीलाई झापा, सांसद रञ्जु दर्शनालाई काठमाडौंका लागि प्रतिनिधि बनाइएको छ ।
कसलाई कहाँ खटाइयो ? हेर्नुहोस् सूची





