काठमाडौँ । प्रतिनिधि सभाको अर्को बैठक आगामी बिहीबार बस्ने भएको छ । बुधबारको बैठकका निर्धारित कार्यसूचीहरू सम्पन्न भएसँगै सभामुख डीपी अर्यालले अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने जानकारी गराएका हुन् ।
बुधबार बसेको प्रतिनिधि सभाको आठौँ बैठकमा दुईवटा महत्वपूर्ण संशोधन विधेयकहरू प्रस्तुत गरिएका छन् । बैठकमा प्रधानमन्त्री तथा गृह मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले व्यवस्थापन कार्यअन्तर्गतका विधेयकहरू सदनमा पेश गरेकी हुन् ।
मन्त्री गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दै उक्त विधेयक सदनमा पेश गरिन् । त्यसैगरी, मन्त्री गौतमले नै ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ लाई पनि सदनसमक्ष प्रस्तुत गरिन् ।
२०८२ मा निर्वाचित प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत बुधबारको बैठकमा यी दुवै विधेयकहरूलाई प्रस्तुत गर्ने र अनुमति माग्ने चारवटा कार्यसूचीहरू रहेका थिए । ती सबै कार्यसूचीहरू पूरा भएपछि बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको हो ।





