०७ जेठ, काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहको राजीनामा माग गरेका छन्। बिहीवार प्रतिनिधि सभा बैठकको शुरुमै बोल्दै उहाँले प्रधानमन्त्री साह संसदप्रति जवाफदेही नभएको भन्दै मार्ग प्रशस्त गर्दा राम्रो हुने धारणा राखेका हुन्।
संसदीय निमयावलीअनुसार सांसदहरूले राखेका प्रश्नको जवाफ दिन नसक्ने प्रधानमन्त्रीले राजीनामा दिँदा उपयुक्त हुने अध्यक्ष राईले रक्षा र गृह मन्त्रालय, सीमा सुरक्षा लगायतका विषयमा आफू र सांसदहरूले राखेका प्रश्नको जवाफ नदिएर प्रधानमन्त्री साहले संसदको गरिमामाथिनै धावा बोलिरहेको भन्दै आपत्ति जनाए।
उनले भने,‘हाम्रो नियमावलीको नियमको १५ (२) अनुसार नेपाल सरकारको नेतृत्व प्रधानमन्त्रीज्यू सदनमा आएर माननीयहरूले उठाउनु भएका, सांसदज्युहरूले उठाउनुभएका प्रश्नको उत्तर दिनुपर्ने हो या होइन ? म एउटा प्रश्न राख्न चाहन्छु। मैले २०८३ साल १ महिना २८ गते र २९ गते केही प्रश्नहरू राखेका थिए। जो गृह मन्त्रालयसँग सम्बन्धित केही थिए, रक्षा मन्त्रालयसँग सम्बन्धित केही थिए। केही अन्य मन्त्रालयसँग सम्बन्धित प्रश्नहरू थिए। ती प्रश्नहरूको उत्तर प्रधानमन्त्रीले आएर दिनुपर्छ भन्ने म माग गर्दछु।’
अध्यक्ष राईले प्रधानमन्त्री साहलाई संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन ? भनि पटक पटक प्रश्न समेत गरे।





