७ जेठ, काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठकअघि विभागीय प्रमुख, प्रदेश इन्चार्ज तथा विभिन्न फाँटहरूको जिम्मेवारी बाँडफाँटको प्रस्तावित सूची तयार गरेको छ भने नेताहरुको वरियताक्रम पनि छुट्टाएको छ ।
सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित नामावली प्रस्तुत गरेका थिए । उक्त प्रस्तावमाथि शुक्रबार बस्ने सचिवालय बैठकमा छलफल गरी अन्तिम निर्णय गरिने जनाइएको छ ।
पदाधिकारीहरूको वरीयताक्रम र जिम्मेवारी धेरैको चासोमा परेको थियो । पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनपछि पदाधिकारी तथा सदस्यहरूको वरीयता निर्धारण गरिएको थिएन ।
प्रस्तावित पदाधिकारीहरूको वरीयताक्रमअनुसार अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो नम्बरमा उपाध्यक्ष रामबहादुर थापा रहेका छन् ।
त्यसपछि उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल ,पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त रहेका छन् । त्यसपछि महासचिव शंकर पोखरेल रहेका छन् ।
उपमहासचिवमा पहिलो लेखराज भट्ट, दोस्रो रघुवीर महासेठ र तेस्रोमा योगेश भट्टराई रहेका छन् । सचिवको पहिलो वरियतामा छविलाल विश्वकर्मा परेका छन् । उनी यसअघि पनि सचिव नै थिए ।
त्यसपछि पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेत रहेका छन् ।
एमाले सचिव पद्मा अर्यालले अहिले आएको नाम प्रस्तावित मात्रै भएकाले यसको औपचारिक छलफल र निर्णय शुक्रबार बस्ने सचिवालयबाटै थपघट र निर्णय हुने नेपालप्रेसलाई बताइन् ।
‘यो प्रस्तावित नाम हो, सबै विषयमा भोलि बस्ने बैठकबाटै टुंगो लाग्नेछ’, उनले भनिन् । प्रस्तावअनुसार उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई सुशासन तथा सेवा प्रवाहसम्बन्धी विभागहरूको संयोजनको जिम्मेवारी दिने तयारी गरिएको छ ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पार्टीसम्बद्ध विभागहरूको संयोजन, पृथ्वीसुब्बा गुरुङलाई सामाजिक विकाससम्बन्धी विभाग, गोकर्ण विष्टलाई पूर्वाधार विकाससम्बन्धी विभाग तथा रघुजी पन्तलाई मानवस्रोतसम्बन्धी विभागहरूको संयोजनको जिम्मेवारी प्रस्ताव गरिएको छ ।
महासचिव शंकर पोखरेललाई पार्टी संगठनात्मक कामको संयोजन तथा केन्द्रीय कार्यालय प्रमुख बनाउने प्रस्ताव गरिएको छ । उपमहासचिव लेखराज भट्टलाई नीति तथा योजना विभाग प्रमुख, रघुवीर महासेठलाई कृषि तथा उद्यमशीलतासम्बन्धी विभागहरूको संयोजन तथा योगेश भट्टराईलाई नीति तथा योजनासम्बन्धी विभागहरूको संयोजनको जिम्मेवारी दिने तयारी गरिएको छ ।
प्रस्तावित सूचीअनुसार सचिव छविलाल विश्वकर्मालाई लुम्बिनी प्रदेश इन्चार्ज, पद्माकुमारी अर्याललाई संसदीय मामिला विभाग प्रमुख, खगराज अधिकारीलाई गण्डकी प्रदेश इन्चार्ज, भानुभक्त ढकाललाई संगठन विभाग प्रमुख, यमलाल कँडेललाई कर्णाली प्रदेश इन्चार्ज, शेरधन राईलाई कोशी प्रदेश इन्चार्ज, राजन भट्टराईलाई राजधानी विशेष प्रदेश इन्चार्ज, हिक्मतकुमार कार्कीलाई राष्ट्रिय हित तथा सुरक्षा विभाग प्रमुख तथा महेश बस्नेतलाई बागमती प्रदेश इन्चार्ज बनाउने प्रस्ताव गरिएको छ ।
त्यसैगरी केन्द्रीय सदस्य प्रदीप ज्ञवालीलाई विदेश विभाग समन्वय प्रमुख, केन्द्रीय सदस्य अग्निप्रसाद खरेललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ विभाग प्रमुख, अमन मास्केलाई इन्जिनियरिङ फाँट इन्चार्ज, डा. सूर्य पाठकलाई प्रचार तथा प्रकाशन विभाग प्रमुख, शेरबहादुर तामाङलाई पार्टी स्कुल विभाग प्रमुख, आनन्द पोखरेललाई पर्यटन तथा नागरिक उड्डयन विभाग प्रमुख, इन्द्र भण्डारीलाई पार्टीसम्बद्ध प्रतिष्ठान इन्चार्ज, कल्पना चापागाईंलाई समाज कल्याण तथा समाजसेवा विभाग प्रमुख, कर्ण थापालाई उद्योग, वाणिज्य तथा आपूर्ति विभाग प्रमुख, क्रान्ति बुर्लाकोटीलाई युवा तथा खेलकुद विभाग प्रमुख, गणेश ठगुन्नालाई संघीय मामिला तथा सामान्य प्रशासन विभाग प्रमुख तथा खेम लोहनीलाई सहकारी तथा गरिबी निवारण विभाग प्रमुख बनाउने प्रस्ताव गरिएको छ ।
अध्यक्ष ओलीको प्रस्तावमा गोकुल बास्कोटालाई भूमि व्यवस्था विभाग प्रमुख, घनश्याम पाण्डेलाई प्रवासी नेपाली मञ्च युरोप इन्चार्ज, जितु गौतमलाई उपभोक्ता हित तथा सुशासन विभाग प्रमुख, ज्वाला साहलाई कृषि तथा पशुपन्छी विकास विभाग प्रमुख, ठाकुर गैरेलाई खानेपानी तथा सरसफाइ विभाग प्रमुख, देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख तथा निरज आचार्यलाई निर्वाचन आयोग प्रमुख बनाउने प्रस्ताव गरिएको छ ।
यस्तै, निरूदेवी पाललाई अध्यक्ष ओली तथा राष्ट्रिय स्वयंसेवक बल इन्चार्ज, बिनाकुमार श्रेष्ठलाई पुस्तकालय तथा अभिलेख विभाग प्रमुख, भारती पाठकलाई वन तथा वातावरण विभाग प्रमुख, डा. भीष्म अधिकारीलाई वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख, रचना खड्कालाई विज्ञान तथा प्रविधि विभाग प्रमुख तथा राजेन्द्र गौतमलाई स्थानीय विकास विभाग प्रमुखमा प्रस्ताव गरिएको छ ।
यसैगरी रमेश बडाललाई कानुन विभाग प्रमुख, रामकुमारी झाँक्रीलाई शहरी विकास विभाग प्रमुख, विन्दा पाण्डेलाई श्रम तथा रोजगार विभाग प्रमुख, विशाल भट्टराईलाई जनसंगठन समन्वय संयन्त्र प्रमुख, सुशीला नेपाललाई सामाजिक सेवा विभाग, हेमराज राईलाई साहित्य तथा कला–संस्कृति विभाग प्रमुख तथा पार्वती रावललाई शिक्षा तथा मानवस्रोत विभाग प्रमुख बनाउने प्रस्ताव अघि सारिएको छ ।
फाँटगत जिम्मेवारीअन्तर्गत क्षितिज थेबेलाई युवा फाँट इन्चार्ज, रश्मी आचार्यलाई विद्यार्थी फाँट इन्चार्ज, हरिप्रसाद घिमिरेलाई भारत प्रवास इन्चार्ज, कृष्णभक्त पोखरेललाई कानुन फाँट इन्चार्ज, उर्मिला सुनुवारलाई अपांगता फाँट इन्चार्ज, जनक चौधरीलाई मजदूर विशेष इन्चार्ज, गोरखबहादुर बोगटीलाई भूमि अधिकार फाँट इन्चार्ज तथा गिरिधारीलाल न्यौपानेलाई किसान फाँट इन्चार्ज प्रस्ताव गरिएको छ ।
त्यस्तै, खेममान खड्कालाई भूपू सैनिक तथा प्रहरी फाँट इन्चार्ज, टुकाभद्रा हमाललाई महिला फाँट इन्चार्ज, मनोहर बी पौडेललाई मुक्ति समाज इन्चार्ज, महमद हारून हलुवाईलाई मुस्लिम इत्तेहाद इन्चार्ज, भोलानाथ पोखरेल ‘रोहित’लाई पेशागत फाँट इन्चार्ज, भूमिका लिम्बू सुब्बालाई जनसांस्कृतिक फाँट इन्चार्ज, रविन्द्र अधिकारीलाई प्रवासी नेपाली मञ्च मध्यपूर्व इन्चार्ज तथा मीनबहादुर शाहीलाई मानवअधिकार एलायन्स इन्चार्ज बनाउने प्रस्ताव गरिएको जनाइएको छ ।
सोमबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले ११ महिनाअघि आफैले रोकेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णयसमेत गरेको थियो ।
प्रस्तावित कार्यविभाजनबारे शुक्रबार बस्ने सचिवालय बैठकले अन्तिम टुंगो लगाउने पूर्वउपमहासचिव तथा केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले बताए ।
चुनावी समीक्षाको प्रतिवेदन बादललाई, महासचिवको् नेतृतवमा केन्द्रीय कार्यालय कमिटी एमालेले पछिल्ला निर्वाचनको समीक्षा गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा कार्यदल गठन गर्ने प्रस्ताव अघि सारेको छ ।
बादलेको संयोजकत्वमा बनेको कार्यदलका सदस्यमा पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, प्रदीप ज्ञवाली तथा सबै प्रदेशका इन्चार्जहरूलाई समेट्ने प्रस्ताव गरिएको छ ।
यसैबीच, महासचिव शंकर पोखरेलको नेतृत्वमा ६ सदस्यीय केन्द्रीय कार्यालय कमिटी गठन गर्ने प्रस्ताव पनि सचिवालय बैठकमा पेश गरिएको छ । एमाले विधानअनुसार महासचिवको नेतृत्वमा केन्द्रीय कार्यालय कमिटी रहने व्यवस्था छ ।
प्रस्तावित कमिटीमा संगठन विभाग प्रमुख भानुभक्त ढकाल, राजधानी विशेष प्रदेश इन्चार्ज राजन भट्टराई, प्रचार विभाग प्रमुख सूर्य पाठक, कोष तथा वित्त विभाग प्रमुख भीष्म अधिकारी तथा निर्वाचन विभाग प्रमुख निरज आचार्यलाई सदस्य बनाउने प्रस्ताव गरिएको छ ।





