महासङ्घको केन्द्रीय सदस्यमा ६ जना मनोनीत

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

०८ जेठ, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्य समितिले केन्द्रीय कार्यकारिणी समिति सदस्यमा ६ जना मनोनीत गरेको छ। शुक्रबार बिहान बसेको महासङ्घको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष अन्जन श्रेष्ठको प्रस्तावमा ६ जना सदस्य मनोनीत गरेको हो ।

जसमा जिल्ला नगरबाट ३ जना, वस्तुगतबाट २ जना र एसोसियटबाट एक जना रहेका छन् । उनीहरूमा मनिषलाल प्रधान (ललितपुर), नवीन रिजाल (मोरङ), गोकर्ण कार्की (पोखरा) जिल्ला नगरतर्फबाट मनोनीत भएका छन् ।

यस्तै, वस्तुगत तर्फबाट कत्था उत्पादक सङ्घका शिव प्रसाद घिमिरे र महिला उद्यमी महासङ्घबाट दर्शना श्रेष्ठ मनोनीत भएका छन् । एसोसियट तर्फबाट साहारा जोशी केन्द्रीय सदस्य मनोनीत भएकी छिन् ।

महासङ्घको विधानमा अध्यक्षले २ जना महिलासहित ७ जनालाई केन्द्रीय कार्यकारिणी समिति सदस्यमा मनोनीत गर्न सक्ने प्रावधान रहेको छ । अब १ जना मनोनीत गर्न बाँकी छ ।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष चयन गर्न आज निर्वाचन हुँदैछ । वरिष्ठ उपाध्यक्षका लागि ५ जना आकाङ्क्षी देखिएको भए पनि अन्तिममा ३ जनाबिच मात्रै प्रतिस्पर्धा हुने भएको छ ।

जसमा सुरकृष्ण वैद्य, हेमराज ढकाल र रामचन्द्र सांघाईबिच वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा हुने भएको छ । वरिष्ठ उपाध्यक्षमा उठ्ने चर्चामा रहेका किशोर प्रधान र भरतराज आचार्य भने ब्याक हुने भएका छन् ।

त्यस्तै, कोषाध्यक्षमा पनि तीन जनाको चर्चा गरिएको भए पनि अहिलेसम्म अम्बिकाप्रसाद पौडेलले मात्रै उम्मेदवारी घोषणा गरेका छन्। मनिषलाल प्रधानले पनि कोषाध्यक्ष बन्ने चाहना राखेका छन्। उनलाई कार्यसमितिले महासङ्घको केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्