केपीलाई अष्टलक्ष्मीको सुझाव : यही बैठकबाट बिदा लिनुस्

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

९ जेठ, काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स-सम्मान अध्यक्ष पदबाट बिदा लिन आग्रह गरेकी छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै नेतृ शाक्यले ओलीको दम्भ, घमण्ड र गुटगत सोचका कारण पार्टी कमजोर स्थितिमा पुगेको भन्दै नेतृत्व पुस्तान्तरण गर्न जोडदार माग गरेकी हुन्।

अध्यक्ष ओलीले तीन कार्यकाल नेतृत्व गरिसकेको स्मरण गराउँदै उनले अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएकी छन्।

‘सास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईंको सोच गलत छ,’ शाक्यले ओलीलाई लक्षित गर्दै लेखेकी छन्, ‘कमरेडले यही बैठकबाट स-सम्मान अध्यक्ष पदबाट बिदा लिनु राम्रो हुन्छ। नेकपा एमाले पुनर्जीवित गर्न, अन्धकारमा डुब्न लागेको एमाले फेरि उठाउन सकिन्छ।’

निर्वाचनपश्चात् गौरवपूर्ण इतिहास बोकेको पार्टी कमजोर स्थितिमा पुगेको भन्दै उनले ओलीको कार्यशैलीप्रति कडा प्रहार गरेकी छन्। एमाले लाखौं कार्यकर्ताहरूको त्याग, संघर्ष र बलिदानको रगतले जन्मेको पार्टी भएको स्मरण गराउँदै उनले यसलाई व्यक्तिको पेवा वा गुटको कम्पनी नठान्न चेतावनी दिएकी छन्।

नेतृ शाक्यले आजको एक्काइसौं शताब्दीमा पार्टी सञ्चालनका लागि विचार, सामूहिकता, संघर्ष र इमान आवश्यक पर्ने स्पष्ट पारेकी छन्। व्यक्तिको गुणगान र चाकरीमा समय खर्च गर्नुभन्दा देश र जनताको हितमा निस्वार्थ भावना राखेर काम गर्ने बेला आएको उनको भनाइ छ। कार्यकर्ताको भावना बुझेर ओलीले पार्टीलाई बन्धक बनाउन नहुने निष्कर्ष शाक्यको छ।

अष्टलक्ष्मीको सुझाव

कमरेड अध्यक्ष केपी शर्मा ओली,

तपाईं नेकपा एमालेको अध्यक्ष पदमा रहेर तीन कार्यकाल नेतृत्व गरिसक्नुभएको छ। यतिबेला कमरेडले कार्यकर्ताको भावना बुझ्न जरुरी छ। निर्वाचनपश्चात् गौरवपूर्ण इतिहास बोकेको नेकपा एमाले आज यो कमजोर स्थितिमा पुगेको छ। पुनः नेकपा एमालेलाई आन्दोलनको नेतृत्वमा पुर्‍याउन सकिन्छ। अहिले पनि तपाईंले देखाउनुभएको दम्भ, घमण्ड र गुटगत सोच म उस्तै देख्छु

बलिदानको रगतले जन्मेको पार्टी हो एमाले। लाखौँ कार्यकर्ताहरूको त्याग र सङ्घर्षबाट अगाडि बढेको पार्टी हो एमाले। यो पार्टी तपाईंको मात्र पेवा होइन। एमाले तपाईंको गुटको कम्पनी पनि होइन। त्यसैले कमरेड, सास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईंको सोच गलत छ।

अहिले एक्काइसौँ शताब्दीमा छौँ हामी। आजको समयको माग विचार, सामूहिकता, सङ्घर्ष र इमानबाट पार्टी नेतृत्व गर्ने बेला हो। अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्छ। कमरेडले यही बैठकबाट ससम्मान अध्यक्ष पदबाट बिदा लिनु राम्रो हुन्छ।

नेकपा एमाले पुनर्जीवित गर्न, अन्धकारमा डुब्न लागेको एमाले फेरि उठाउन सकिन्छ। व्यक्तिको गुणगान र चाकरीमा खर्च गर्ने यो समय होइन। देश र जनताको हितमा निस्वार्थ भावना राखेर काम गर्ने बेला हो। आजको समयको माग पनि यही हो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्