एमाले बैठक–ओलीले केन्द्रीय कमिटी माग गर्दै, अरु ‘अनिवार्य बहिगर्मन’को निर्णय गर्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

 १० जेठ, काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमनका पक्षमा प्रायः पदाधिकारी देखिएपछि नेकपा एमाले सचिवालय बैठकमा आज ओलीले आफ्नो भनाइ राख्ने भएका छन् । जेठ ४ गते शुरु भई स्थगित बैठक शुक्रबारदेखि पुनः जारी भएको थियो ।

अध्यक्ष ओली निकटस्रोतका अनुसार सचिवालय बैठकमा उठेका विषयहरु केन्द्रीय कमिटीमा लगेर छलफल गर्नुपर्ने माग गर्दैछन् । तर, पदाधिकारीहरु ‘पहिले मार्गप्रशस्त, त्यसपछि केन्द्रीय कमिटी बैठक’ भन्ने पक्षमा छन् । एक पदाधिकारीले नेपाल प्रेससँग भने, ‘अध्यक्षको बहिर्गमन अनिवार्य हो, उहाँले मान्नुभएन भने सचिवालय बैठकबाट कारबाही गरी केन्द्रीय कमिटीको अध्यक्षता नगर्ने गरी जान सकिन्छ ।’

ओली भने आफ्नो बहिर्गमनको माग गर्ने पदाधिकारीका प्रश्नको ‘एक–एक’ जवाफ दिने तयारीमा छन् । उनले ती पदाधिकारीका विगतका अभिव्यक्ति, भूमिका एवम् उनीहरुका कारण प्रतिनिधिसभा सदस्य निर्वाचन परिणाम प्रभावित भएका विषयलाई उठाउने भएका छन् । ओलीनिकटस्रोतले भन्यो, ‘मेरो कारणले भएको क्षतिको जिम्मा म लिन्छु, तर साथीहरुका कारणले भएका क्षतिबारे पनि कुरा हुनुपर्छ भन्ने लाइनमा बोल्दै हुनुहुन्छ ।’

महाधिवेशनबाट निर्वाचित भएको अध्यक्षलाई सचिवालयका केही नेता बसेर कारबाही गर्ने अधिकार नभएको ओलीको अडान आज बैठकमा पेश गर्दैछन् । पार्टीको सर्वोच्च निकाय महाधिवेशन, त्यसपछि केन्द्रीय कमिटी भएका कारण सचिवालयले निर्वाचित अध्यक्षलाई ‘बाटो खाली गर’ भन्न नमिल्ने तर्क उनले गर्दैछन् ।

बैठकको पहिलो दिन पेश गरिएको केन्द्रीय नेताहरुको कार्यविभाजन, स्थानीय तह निर्वाचन कार्यक्रम र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता कायम गर्ने विषयलाई पारित गरेर अन्य विषय केन्द्रीय कमिटीमै छलफल गर्नुपर्ने ओलीको प्रस्ताव रहने उनीनिकटका एक नेता बताउँछन् । तर, उनका कुरा मान्ने पक्षमा प्रायः पदाधिकारी छैनन् ।

‘फागुन २१ को निर्वाचनको जनमत र राष्ट्रिय राजनीतिको माग नै पार्टीको पुनर्संरचना, रुपान्तरण र नेतृत्व हस्तान्तरण हो, प्राविधिक कुरा गरेर बहसलाई विषयान्तर गर्ने छूट दिइने छैन,’ एक पदाधिकारीले भने, ‘यो कुरा अध्यक्षले मान्नुभएन भने पनि हामी निर्णय गरेर जान्छौँ ।’

संकटमा कार्यविभाजन
अध्यक्षको विषयमा उत्पन्न पेचिलो बहसका कारण बैठकको पहिलो दिन महासचिव शंकर पोखरेलले पेश गरेको कार्यविभाजन तथा स्थानीय तह निर्वाचन योजना संकटमा परेको छ । ओली केही संशोधनसहित ती प्रस्ताव पारित गरेर अरु कुरा ‘पछि गर्ने’ मनस्थितिमा छन् । तर, पदाधिकारीमध्ये तीनजना बाहेक कोही पनि ओलीको कुरा मान्ने पक्षमा छैनन् । ‘बरु, कार्यविभाजन अहिले छाड्न सकिन्छ, अध्यक्षको वहिर्गमनको एजेण्डा छाडेर जान सकिँदैन,’ ती पदाधिकारीले बताए ।

ओलीका पक्षमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत छन् । उपमहासचिव लेखराज भट्ट ‘पार्टीको बहुमत निर्णय मान्ने भन्दै’ तटस्थ छन् ।

त्यसमध्ये सचिव बस्नेतको आज बोल्ने पालो हो । अर्का सचिव खगराज अधिकारीको पनि बोल्ने पालो आजै हो । तर, उनले एक टेलिभिजन अन्तर्वार्तामा ओलीले छोड्न नमाने निकालिने भनिसकेका छन् । सचिव पद्मा अर्याल र डा.राजन भट्टराई ‘पक्षमा’ हुने ओलीको अनुमान थियो । उनीहरुले पनि बहिर्गमन पक्षमै बोले ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्