१० जेठ, काठमाडौं । कालो चस्मा र अनुहारमा मास्क लगाएकी एक युवती शुक्रबार अपराह्न सवा ५ बजेतिर सानेपास्थित जनआस्था साप्ताहिकको कार्यालय परिसरमा देखापर्छिन् । उनको हातमा एउटा निलो प्लास्टिकको थैलो हुन्छ ।
थैलोलाई जनआस्था कार्यालयको गेटमा थपक्क राखेर उनी आफ्नो बाटो लाग्छिन् । केहीबेरमा जनआस्थाका स्टाफहरू तल झर्छन् । थैलो टिपेर हेर्छन् । त्यसभित्र हुन्छ, एउटा रक्सीको बोतल र ५० हजार रुपैयाँ नगद । ती युवती को थिइन् र यो ‘उपहार’ को रहस्य थियो भन्ने विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको मौखिक उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले छानबिन थालेको हो ।
श्रेष्ठले आज आफ्नो फेसबुकमा कालो चस्मा र मास्क लगाएकी, साइड ब्याग बोकेकी युवतीको एउटा स्क्रिनसट फोटो पोस्ट गरेका छन् । यो स्क्रिनसट घटनास्थलमा रहेको सेक्युरिटी क्यामराको फुटेजबाट लिइएको हो । त्यसअघि नै श्रेष्ठले एउटा फेसबुक स्टाटस पनि लेखेका थिए । विगतमा माओवादी नेता कृष्णबहादुर महरालाई फसाइएकै शैलीमा आफूलाई फसाउने षडयन्त्र गरिएको उनको भनाइ छ ।
श्रेष्ठका अनुसार उनलाई सौरभ यादवको नाममा दर्ता भएको चिनिया (सेन्चेन) को नम्बरबाट शुक्रबार मिस्टर यिङ र मिस्टर एमको नक्कली नाममा फोन आएको थियो । फोन गर्नेले गृहमन्त्रीमा सुधन गुरुङलाई छेक्नुपर्यो भन्दै १० लाख रुपैयाँको प्रलोभन दिएको उनी बताउँछन् । ती व्यक्तिले आफूलाई सानो उपहार पठाउने भनेको तर आफूले ‘इग्नोर’ गरेको श्रेष्ठको भनाइ छ ।
श्रेष्ठले यो स्टाटस लेख्नुअघि एउटा विवादास्पद भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । मेकानिकल इन्जिनियर शैलेश साहको फेसबुक आइडीबाट आएको यो भिडिओमा पत्रकार श्रेष्ठको एक ‘चिनिया नागरिक’ सँग भएको फोन संवाद र केही स्क्रिनसट राखिएको छ ।
अंग्रेजीमा भएको फोन संवाद यस्तो छ ।
अज्ञात व्यक्ति: हेल्लो मिस्टर किशोर
किशोर: एस… ओ, ह्याभ वि मेट विफोर ? (के हामीले पहिला भेटेका छौँ ?
अज्ञात व्यक्ति: छैन, तर तिमीले हामीबाट केही उपहार प्राप्त गरेका छौँ, यदि सम्झना भए..
किशोर: अँ…अँ….
अज्ञात व्यक्ति तिमीले जे गरिरहेका छौँ, त्यसमा हामी धेरै खुसी छौँ । र, भविष्यमा पनि यो जारी राख्ने आशा राखेका छौँ ।
किशोर: अँ… ओके
अज्ञात व्यक्ति: तर यो मान्छे सुधन गुरुङ हाम्रो लागि ठिक छैन
किशोर: (हाँसो)
अज्ञात व्यक्ति: तिमीले मेरो कुरा बुझ्यौ होला । र, हामी तिमीलाई आज ४ बजे एउटा गिफ्ट पठाउनेछौं । मेरो एक साथीले तिमीलाई फोन गरेर उपहारसहित भेट्नेछन् ।
किशोर: यायाया…
अज्ञात व्यक्ति: तिमीले बुझ्यौ होला म गुरुङको बारेमा के भन्दैछु
किशोर: अहँहँ…
अज्ञात व्यक्ति: मेरो एक केटी साथीले नेपाली नम्बरबाट फोन गर्नेछिन् ।
किशोर: उम्…
अज्ञात व्यक्ति: तिमी उनीसित समन्वय गर र ४ बजेतिर भेट्नु
किशोर: उम्…
अज्ञात व्यक्ति: एउटा सानो गिफ्ट छ
किशोर: उम्…
अज्ञात व्यक्ति: यो सुदन गुरुङ भन्नेलाई ख्याल गर्नु । यो खतरनाक मान्छे हो हाम्रो लागि ।
किशोर: अँ… एस एस एस
अज्ञात व्यक्ति: थ्यांक यु सर । मेरो साथीलाई गिफ्टसहित भेट्नु । र, जे गरिरहनुभएको छ त्यसलाई निरन्तरता दिनुहोला । हामी एकदम प्रशंसा गरिरहेका छौंं ।
दोस्रो संवाद
अज्ञात व्यक्ति: हेल्लो
किशोर: एस
अज्ञात व्यक्ति: एस मिस्टर किशोर
किशोर: उम् एस एस
अज्ञात व्यक्ति: मेरो साथीले तिमीलाई सिग्नल एपमा कल गर्छिन्
किशोर: उम्
अज्ञात व्यक्ति: तिमीसँग सिग्नल एप छ होइन ?
किशोर: एस
अज्ञात व्यक्ति: उनले ‘ह्वाइट क्लेन’ नामबाट कल गर्छिन् । प्लीज फोन उठाउनु ।
किशोर: उम्
अज्ञात व्यक्ति: थ्यांक यु मिस्टर किशोर । म फेरि कुरा गर्नेछु ।
तेस्रो संवाद
किशोर: हेल्लो हेल्लो
अज्ञात व्यक्ति: हेल्लो मिस्टर किशोर
किशोर: एस एस
अज्ञात व्यक्ति: तिमीले आफ्नो म्यासेज सिग्नल एपमा पायौ ?
किशोर: मैले हेरेँ
अज्ञात व्यक्ति: तिमीले १ लाख रुपैयाँ र मदिराको बोतल पायौ ?
किशोर: म चेक गर्छु । मेरो अफिसको स्टाफहरू तल गएका छन् । म बैठक गर्दैछु ।
अज्ञात व्यक्ति: यदि तिमीसित सुदन गुरुङको विषयमा लेखिएका समाचारको लिंक छ भने सिग्नल एपमा पठाउन सक्छौ ?
किशोर: अँ… म चेक गर्छु … भोली है ।
अज्ञात व्यक्ति: थ्यांक यु ।
यसैगरी भिडिओमा केही संवादका स्क्रिनसटहरु छन् । ती संवादको केन्द्रमा पनि गिफ्ट र सुदन गुरुङ नै छन् ।
ह्वाट्सएपको जस्तो देखिने एउटा स्क्रिनसटमा किशोर श्रेष्ठको फोन नम्बर देखिएको छ र त्यसमा लेखिएको छ, ‘मैले ५० हजार र एउटा बोतल मात्रै पाएँ । मैले समाचारलाई पुरै भाइरल बनाइसकेको छु । यो अझै फैलिँदै छ र म तिमीलाई केही लिंकहरु पठाउँछु ।’
पत्रकार श्रेष्ठले भिडिओमार्फत सार्वजनिक भएका फोन संवाद र च्याटका स्क्रिनसट सम्पादित र कतिपय फेक रहेको बताएका छन् ।
नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘मलाई पैसाको अफर गरिएको हो । तर, म करोडौंमा नबिकेको पत्रकार ५० हजार रुपैयाँमा बिक्छु होला ? त्यो मैले ५० हजार पैसा पाएँ भनेर लेखिएको च्याटको स्क्रिनसट पुरै ‘फेक’ हो । फोनमा आवाज मेरै भए पनि गलत अर्थ लाग्ने गरी काँटछाँट गरेर हालिएको छ । मैले कतै पनि गिफ्ट लिन्छु वा पाएँ भनेर भनेको छैन ।’
जनआस्था साप्ताहिकले आज फोन कन्भर्सेसनको सानो क्लिप सार्वजनिक गरेको छ । यो संवादमा चाहिँ ‘गिफ्ट’को विषयमा भएको कुराकानीको सन्दर्भ समावेश छैन । सुदन गुरुङको विषयमा बोलेको कुरा मात्रै छ । यद्यपि, गिफ्टको प्रस्ताव आएको श्रेष्ठले स्वीकार गरेका छन् ।
उनी भन्छन्, ‘बेइजिङबाट भन्दै कल गर्ने व्यक्तिले पटक पटक गिफ्टको कुरा गरिरहेको थियो । मैले वास्ता गरिनँ । पछि फोन पनि उठाउन छोडेँ । तर फोन/म्यासेज गरेको गर्यै गर्न थाल्यो । सुधन गुरुङलाई ड्यामेज गर्न एक लाख पठाउँछौँ, १० लाख अर्को हप्ता दिन्छौँ भन्ने ब्यहोराको पनि म्यासेज आयो । मैले त्यसमा पनि कुनै जवाफ दिएको छैन । नभन्दै शुक्रबार बेलुकी साँच्चै एक जना युवतीले सामान छोडेर गइन् ।’
‘म त्यसबेला मिटिङमा थिएँ । सामान छोडेर गएको सिसिटीभीको लाइभमै देखेँ । सामान छोडेर गएलगत्तै फोन आयो । मैले सामान फिर्ता लैजान भनेँ । तर उल्टै अर्काे हप्ता १० लाख पठाउँछु भन्छ । त्यसपछि फेरि सुदन गुरुङको विषयमा न्यूज लिंक पठाउनु भन्छ । म किन पठाउने ? तर, फेक स्क्रिनसटहरु बनाएछन् । ठ्याक्क पहिला महरा स्टाइलमा जे गरेको थियो, त्यही गर्न खोजियो ।’
युवतीले छाेडेकाे पैसा र बाेतल जनआस्थाकाे कार्यालयमा सुरक्षित रहेकाे र प्रहरीलाई जिम्मा लिइदिन भनेकाे श्रेष्ठले बताए ।
सार्वजनिक भएको फोन संवाद र च्याटको स्क्रिनसट हेर्दा शंका गर्ने ठाउँहरू धेरै छन् । बारम्बार ‘गिफ्ट’ को कुरामा जोड दिनुले श्रेष्ठविरुद्ध प्रमाण सिर्जना गर्ने नियतबाट संवाद गरिएको अनुमान गर्न सकिन्छ । फोन संवादको ‘सिक्वेन्स’ पनि मिलेको छैन । सुरुमै ‘तिमीलाई सम्झना भए हामीबाट तिमीले एउटा गिफ्ट लिएका थियौ’ भनिएको छ । पछाडि फेरि ‘आज ४ बजे गिफ्ट आउँछ’ भनिएको छ ।
च्याटको स्क्रिनसटमा सोझै ‘मैले ५० हजार र रक्सीको बोतल मात्र पाएँ’ भनेर लेखिएको छ । किशोर श्रेष्ठ जतिका दिग्गज र बाठा पत्रकारले यसरी च्याटमा पैसा लिएको कुरा लेखे होला भनेर विश्वास गर्न कठिन हुन्छ । साथै, श्रेष्ठको ट्र्याक रेकर्ड हेर्दा अहिलेसम्म आर्थिक लेनदेनमा मुछिएका छैनन् ।
च्याट र फोन वार्ताबारे दूधको दूध पानीको पानी छुट्याउन गहन प्रहरी अनुसन्धान आवश्यक देखिएको छ । श्रेष्ठ स्वयम्ले यस प्रकरणमा छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन सरकार र रास्वपालाई आग्रह गरेका छन् ।
जिल्ला प्रहरी ललितपुर स्रोतले यस घटनाका विषयमा श्रेष्ठबाट मौखिक उजुरी आएको बतायो ।
स्रोतले भन्यो, ‘किशोर श्रेष्ठले फोन गरेर सबै जानकारी गराउनुभएको छ । हिजो र आज सार्वजनिक विवाद भएकाले लिखित उजुरी दर्ता भएको छैन ।’
जिल्ला प्रहरी कार्यालयले आफ्नो क्षेत्रमा भएको घटना हुँदा सामान छोड्ने युवतीको खोजी गर्न सक्ने तर प्राविधिक विषयमा छानबिनको लागि श्रेष्ठले साइबर ब्यूरोमै उजुरी दिनुपर्ने स्रोतको भनाइ छ ।





