११ जेठ, काठमाडौं । सर्वोच्च अदालतले शेरबहादुर देउवा र श्रीमती आरजु राणा देउवालाई पक्राउ नगर्न/नगराउन भनी अन्तरिम आदेश जारी गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसूरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतलाई मात्र रहेको सर्वोच्चको निष्कर्ष छ । काठमाडौं जिल्ला अदालतबाट चैत २४ गते जारी भएको पक्राउ पुर्जी स्वत: निष्क्रिय भएको सर्वोच्चको आदेशमा उल्लेख छ ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट निवेदक र सरकारी पक्षको तर्क सुनेपछि सोमबार अन्तरिम आदेश जारी गरेको हो ।
यसअघि जेठ ५ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको थियो ।
सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेकाले पक्राउ रोक्नका लागि अन्तरिम आदेशको माग गरिए पनि सर्वोच्चले तत्काल त्यस्तो आदेश दिन भने अस्वीकार गरेर दुवै पक्षको बहस सुनेर मात्र निर्णय गर्न उपयुक्त हुने भनेको थियो । देउवाका तर्फबाट जेठ १ गते सर्वोच्चमा रिट दायर भएको थियो ।





