विदेशमा भएका नेपालीलाई स्वदेश फर्किन सभामुखको आग्रह

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१४ जेठ, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कने आग्रह गरेका छन् ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महोत्सव अवलोकनमा पुगेका सभामुख अर्यालले यो देश नै बस्न लायक बन्ने बताएका हुन् ।

‘तमाम दिदी-भाइ, दाजुभाइहरू साँच्चै नै नेपाल फर्किने तयारी गर्नुस् । यो देश बन्छ । समृद्ध हुन्छ । यो देशमा सुशासन कायम हुन्छ । यो देशमा भ्रष्टाचार अन्त्य हुन्छ । यो देश नेपाली नागरिकलाई बस्न लायक देश बन्छ,’ उनले भने, ‘सबै धर्म मान्नेहरूले सम्मानजनक रुपमा आफ्नो धर्म मान्न पाउनुहुन्छ । सबै आफ्नो परिवारसँग बस्न पाउने दिनको पर्खाइमा हुनुहुन्छ ।’

उनले आफूले नेपाली समाज र जनताले चाहेअनुसारको कानुन बनाउन अनवरत काम गर्ने पनि बताए ।

‘मैले पटकपटक आफ्नो कार्यक्रमहरूमा भन्ने गरेको छु- समाजले चाहेको कुरा, यो देशले चाहेको जस्तो कानुन, जनताका लागि आवश्यक पर्ने कानुन निर्माण गर्न मेरो तर्फबाट एक सय प्रतिशत अनवरत निरन्तर काम हुनेछ,’ उनले थपे, ‘जनताले अबको केही वर्षमा पक्कै महसुस गर्नुहुनेछ- हामीहरू किन राजनीतिमा प्रवेश गरेका रहेछौं ।’

अर्यालले देशको संविधान र कानुनको पूर्ण पालना गर्न सरकार कटिबद्ध रहेको धारण राखे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्