१६ जेठ, काठमाडौं । नेकपा एमालेले प्रचार विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य निरज आचार्यलाई दिएको छ ।
पार्टीको प्रचार फाँटसम्वद्ध जनसंगठन प्रेस चौतारी नेपालको इञ्चार्जमा अर्की केन्द्रीय सदस्य रामकुमारी झाँक्री तोकिएकी छन् ।
जेठ ४ गते शुरु भई १० गते समापन भएको सचिवालय बैठकको निर्णयले उनीहरुले त्यस्तो जिम्मेवारी पाएका हुन् । शुक्रबार जारी भएको ४६ पृष्ठको अन्तर पार्टी निर्देशन (अपानि) मा यो कुरा उल्लेख छ ।
प्रचार प्रमुख तोकिएका आचार्य यसअघि निर्वाचन विभाग प्रमुख थिए । उनी युवा संघका पूर्वमहासचिव तथा महेश बस्नेतसँग अध्यक्षका निम्ति प्रतिस्पर्धा पनि गरेका थिए ।
झाँक्री विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट पार्टी काममा सक्रिय भएकी हुन् । अनेरास्ववियुकी पहिलो महिला अध्यक्षको इतिहास रचेकी उनी राष्ट्रियसभा सदस्य पनि हुन् ।
एमालेको मंसिरमा सम्पन्न ११ औँ महाधिवेशनपछि नेताहरुको कार्यविभाजन बाँकी थियो । महाधिवेशनलगत्तै राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण कार्यविभाजनलाई निर्वाचनपछिको एजेण्डा बनाइएको थियो । निर्वाचनलगत्तै अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधन, त्यसपछि अध्यक्ष ओलीकै धरपकडका कारण कार्यविभाजन विलम्ब भएको थियो । शुक्रबार जारी अपानिमा केन्द्रीय कमिटीका ३ सय १ जना नेताका जिम्मेवारी तोकिएको छ ।





