१७ जेठ, काठमाडौं । सामूहिक राजीनामाको तयारीमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को इतर पक्ष समूह आन्तरिक छलफलमा जुटेको छ । काठमाडौंको एक होटलमा अहिले इतर पक्षको बैठक बस्न लागेको हो ।
काठमाडौंमा उपलब्ध महामन्त्री डा. धवलशम्शेर राणा पक्षधर केन्द्रीय सदस्यहरू बैठकमा बस्नेछन् । उक्त बैठकअघि प्रमुख नेताहरूले आन्तरिक छलफल गरेका थिए । उक्त छलफलमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा नेताहरुले आआफ्ना धारणा राखे ।
इतरपक्षले भोली यल्लो प्यागोडा होटलमा भेला बोलाएर सामूहिक राजीनामा घोषणा गर्ने तयारी गरेको थियो । हिजै राप्रपाका तीनजना पूर्वअध्यक्षले विज्ञप्ति जारी गर्दै पार्टी परित्याग नगर्न अपिल गरेका छन् । यद्यपि, आफूहरू रोकिने पक्षमा नरहेको एक नेताले बताए ।
‘सामूहिक राजीनामा दिन एक-दुई दिन ढिला हुनसक्छ, तर अब राप्रपामा हामी रहने सम्भावना छैन,’ ती नेताले भने ।
भर्खरै भएको आन्तरिक छलफलमा नेता दिलनाथ गिरीले आज एक वक्तव्य जारी गर्ने र २१ गते सामूहिक राजीनामा घोषणा गर्ने प्रस्ताव गरेका थिए । पार्टीले कारबाही गर्यो भने त्यसले आफूहरूलाई नै फाइदा हुने उनको भनाइ थियो ।
इतरपक्ष बढीभन्दा बढी नेताहरूलाई आफूहरुसँग जोड्नका लागि एक-दुई दिन पर्खिनसक्ने पक्षमा छ । हस्ताक्षर संकलन आजैबाट सुरू गरिने बताइएको छ ।





