चार दशकदेखिको बजेट कार्यान्वयनको भाष्य तोड्ने दाबी अर्थमन्त्री वाग्लेको

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१७ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा असाधारण काम गरिएको दाबी गरेका छन् ।

बजेट कार्यान्वयन हुँदैन भन्ने चार दशकदेखिको भाष्यलाई यसपालि चिर्ने गरी काम गरिएको उनको भनाइ छ ।

आगामी आवको बजेटबारे आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले आफूले मन्त्रालय सम्हाल्नासाथ अभूतपूर्व तवरले सबै मन्त्रालयलाई सशक्त बनाइएको बताए ।

भौतिक मन्त्रालयमा २४/२५ प्रतिशतमात्र पूँजीगत बजेट खर्च भइरहेको थियो, तर धेरै ठूलो बजेट ओगटेर बसे पनि खर्च भने एकदमै न्यून हुने गरेको भन्दै उनले सबैलाई सकेसम्म धेरै पूँजीगत बजेट खर्च गर्न निर्देशन दिइएको जानकारी दिए ।

‘म चैत १३ मा अर्थ मन्त्रालय आएको थिएँ, चैत मसान्तमा रेसियो हेर्दा त पूँजीगत खर्च नै १९/२० प्रतिशतमात्र भएको छ,’ वाग्लेले भने, ‘कमसेकम विनियोजित बजेट त खर्च गर्नुपर्‍यो नि । यसबारे के गर्नुपर्छ भनेर हामीले विनियोजन विधेयकमा संशोधन गरेर जेठ १६ बाटै काम गर्न मिल्ने गरी सहजीकरण गरिदियौं, यति भएपछि अर्थ मन्त्रालयले अड्कायो भन्न पाउँदैनन् ।’

अर्थमन्त्री वाग्लेले १५ जेठमा २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्