२९ जेठ, काठमाडैं । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ मा आन्तरिक बाल बेचबिखन तथा बाल शोषणविरुद्ध जनचेतनामूलक अभियान कार्यक्रम सम्पन्न भएको छ।
“अब लुक्दैन, हरेक आँखा क्यामेरा, हरेक मान्छे रिपोर्टर” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रम समुदायस्तरमा बढ्दो बाल बेचबिखन तथा बाल अधिकार उल्लङ्घनका घटनाप्रति सचेतना फैलाउने उद्देश्यले सञ्चालन गरिएको हो।
गोकर्णेश्वर नगरपालिका वडा नं. ५ मा पछिल्लो समय बालबालिका मनोरञ्जन क्षेत्र, खाजा घर, होटल, स्पा लगायतका व्यवसाय विस्तारसँगै १८ वर्षमुनिका बालबालिकालाई यौन व्यवसायमा प्रयोग गरिने जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको थियो।
यस्ता गतिविधिले समुदायको सुरक्षा, सामाजिक सद्भाव तथा बाल अधिकारमा गम्भीर नकारात्मक प्रभाव पारिरहेको भन्दै यसको नियन्त्रण तथा रोकथामका लागि सामुदायिक सहभागिता आवश्यक रहेको वक्ताहरूले बताएका थिए।
गोकर्णेश्वर नगरपालिका वडा नं. ५ की वडा सदस्य तथा गोकर्णेश्वर नगरपालिका मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिकी संयोजक लक्ष्मी पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता नारायण सुवेदी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा वडा सदस्य धर्म थिङ लामा, बौद्ध प्रहरी वृत्तका प्रमुख सन्तोष रोक्का, सामुदायिक प्रहरी जोरपाटीका सदस्य भवनाथ पाठक, विभिन्न क्लब, टोल विकास संस्था तथा संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बागमती करिडोरस्थित खुला चौरमा आयोजित कार्यक्रममा सहभागीहरूले बाल बेचबिखन, बाल श्रम तथा बाल यौन शोषणविरुद्ध सामूहिक रूपमा आवाज उठाउनुपर्नेमा जोड दिएका थिए। साथै, समुदायका प्रत्येक नागरिकलाई सचेत, जिम्मेवार र सक्रिय ‘रिपोर्टर’ बन्न आग्रह गर्दै शंकास्पद गतिविधिबारे सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन अनुरोध गरिएको थियो।
कार्यक्रमको सञ्चालन सम्झना पौडेलले गर्नुभएको थियो।














