३० जेठ, काठमाडौं । पार्टीमा चुलिएको राजनीतिक विवाद समाधानका लागि सहमति जुट्न नसके नेपाली कांग्रेसको संस्थापन इतर समूहमा रहेका ‘हेभिवेट’ नेताहरू १५ औं महाधिवेशनमा वञ्चित हुने देखिएको छ ।
क्रियाशील सदस्यता अद्यावधिकमा सहभागी नभएका कारण संस्थापन इतर समूहमा रहेका ‘हेभिवेट’ नेताहरू आगामी असोजका लागि निर्धारण गरिएको महाधिवेशनमा वञ्चित हुने देखिएको हो ।
पार्टीले क्रियाशील सदस्यता अद्यावधिक नगर्ने कुनै पनि नेता–कार्यकर्ता १५ औं महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने निर्णय गरेको छ । कांग्रेस नेतृत्व पनि अद्यावधिक नगर्ने नेता–कार्यकर्ताहरू महाधिवेशन प्रक्रियामा सहभागी नहुने बताउँदै आएको छ ।
उक्त निर्णयअनुसार निवर्तमान सभापति शेरबहादुर देउवा र उनीसँग अघिल्लो महाधिवेशनमा प्रतिष्पर्धा गरेका नेता डा। शेखर कोइरालानिकट नेता–कार्यकर्ताहरू आसन्न महाधिवेशनमा सहभागी हुन नपाउने भएका हुन् ।
पार्टीले गठन गरेको सदस्यता व्यवस्थापन समितिको संयोजन गर्दै आएका महामन्त्री प्रदीप पौडेलले सदस्यता अद्यावधिक नगरेका नेता–कार्यकर्ताहरू आगामी असोजमा हुने महाधिवेशनमा सहभागी हुन नपाउने बताए ।
‘अद्यावधिक नगरी नेपाली कांग्रेसको सदस्य भएर भूमिका गर्ने स्थिति रहँदैन,’ महामन्त्री पौडेलले अनलाइनखबरसँग भने, ‘पार्टीको सदस्यता अद्यावधिक नगराई १५ औं महाधिवेशनमा सहभागी हुन पाइँदैन ।’
अर्का महामन्त्री गुरूराज घिमिरेले पनि सदस्यता अद्यावधिक नगरेका नेता–कार्यकर्ताहरू १५ औं महाधिवेशनमा सहमागी हुन नपाउने बताए । उनले सदस्यता अद्यावधिक नगरेकाहरू अधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने निर्णय भएको स्मरण गराए ।
‘सदस्यता अद्यावधिक गर्ने सदस्यहरू महाधिवेशन प्रक्रियाहरूमा सहभागी हुन्छन्,’ महामन्त्री घिमिरेले भने, ‘अद्यावधिक नगरेकाहरू बारे हामीले केन्द्रीय कार्यसमिति बैठकबाट गरेको निर्णयअनुसार नै हुन्छ ।’
अर्को सूचना नभएसम्मका लागि क्रियाशील सदस्यता अद्यावधिक नभएका सदस्यहरू महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था कायमै रहेको उनको भनाइ छ ।
‘मलाई जहाँसम्म लाग्छ, उहाँहरूले सदस्यता अद्यावधिक गराउनुहुन्छ । गराउनु हुन्न भने उहाँहरूको स्वेच्छिक कुरा हो,’ घिमिरेले भने, ‘आगामी प्रक्रियामा सदस्यता अद्यावधिक गराउने र नगराउनेको एउटै हैसियत हुँदैन ।’
प्रवक्ता देवराज चालिसेले भने सदस्यता अद्यावधिक नगरेका शीर्ष नेताहरूका बारेमा के गर्ने भन्ने विषयमा पार्टीले निर्णय गर्न बाँकी रहेको प्रतिक्रिया दिए । तर, उनले विधानमा भएको व्यवस्थाअनुसार कसैले अद्यावधिक गर्ने र कसैले नगर्ने भन्ने नहुने पनि बताए ।
‘पार्टीको आधिकारिक निर्णयले सबै क्रियाशील सदस्यहरूलाई सदस्यता अद्यावधिक गर्नु भन्छ । पार्टीको विधानमा कसैले अद्यावधिक गरे पनि हुने, कसैले नगरे पनि हुने व्यवस्था छैन,’ चालिसेले भने, ‘उहाँहरू ९इतर समूह० ले अद्यावधिक गर्नुपर्ने थियो । गर्नुभएन । यो विषयमा के गर्ने भन्ने बारे केन्द्रले अहिले नै केही निर्णय गरेको छैन ।’
प्रवक्त चालिसेले अधिवेशन र अद्यावधिकको विषयलाई चरम राजनीतिक विषय बनाइएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । ‘अधिवेशन र अद्यावधिकको विषयलाई यति धेरै चरम राजनीतिक विषय बनाउन आवश्यकता थिएन,’ उनले भने, ‘यसले पार्टी कार्यकर्ताको मनोबल गिराउने मात्रै काम गर्छ ।’
सदस्यता अद्यावधिकका लागि देखिएको उत्साहजनक सहभागिताले पार्टी लयमा फर्किएको चालिसेको भनाइ छ । ‘अद्यावधिक गर्ने प्रक्रियाले राजनीतिक विवादलाई त्यति स्पेश दिएको जस्तो देखिँदैन,’ उनले भने, ‘यसअघि अर्काले नवीकरण गरिदिन्थे होला, यसपल्ट सदस्यहरूले आफ्नो सदस्यता आफैं अद्यावधिक गरेका छन् । यो सुखद् पक्ष हो ।’
महामन्त्री घिमिरेले नेतृत्व र असन्तुष्ट नेताहरूका बीचमा राजनीतिक विवाद समाधानबारे सहमति जुटे अद्यावधिकको विषय पुनर्विचारमा आउने बताए ।
‘नेतृत्व र उहाँहरू (इतर समूह) का बीचमा हामी यसरी जाने भन्ने कुरा भयो भने विषय पुनर्विचारमा आउने भयो,’ उनले भने, ‘नभए अद्यावधिक नगराउनेहरूको हकमा पार्टीले गरेको निर्णय अनुसार नै हुन्छ । नयाँ निर्णय नगर्दासम्म पुरानै निर्णयबमोजिम हुन्छ ।’
देउवा र कोइरालासँगै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, निवर्तमान उपसभापति धनराज गुरुङ, पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला, डा. शशांक कोइरालाको सदस्यता अद्यावधिक भएको छैन
सदस्यता व्यवस्थापन समितिका संयोजक पौडेलले भने सदस्यता अद्यावधिकलाई राजनीतिक विषय बनाउन नहुने पक्षमा देखिन्छन् । इतर समूहका नेताहरूले सदस्यता अद्यावधिकका लागि इच्छा देखाए पार्टीले वातावरण बनाउने उनको भनाइ छ ।
‘सदस्यता अद्यावधिकलाई राजनीतिक विषय बनाएर मिलाउनु पर्छ भन्ने होइन । उहाँहरू हामी अद्यावधिक गर्छौं भनेर आउनुभयो भने हामी अद्यावधिक गर्ने वातावरण मिलाउँछौं,’ पौडेलले भने, ‘अरु सहमति गर्न जरूरी छैन ।’
महामन्त्री पौडेलले पार्टीको क्रियाशील सदस्यता अद्यावधिकलाई इतर समूहले राजनीतिक मुद्दा बनाएको भन्दै असन्तुष्टि जनाए । ‘म्याद थप गरेर बारम्बार आग्रह गर्दागर्दै पार्टीको हितमा गरिएको काममा पनि उहाँहरूको संलग्नता भएन,’ उनले भने, ‘यसलाई राजनीतिक मुद्दा बनाइयो ।’
महामन्त्री पौडेलले इतर समूहका नेताहरूलाई सदस्यता अद्यावधिकका लागि आग्रह पनि गरे । ‘हामी के आग्रह गर्न चाहन्छौं भने उहाँहरू फेरि पनि अद्यावधिक गर्न चाहनुहुन्छ भने हामी वातावरण बनाउन तयार छौं,’ उनले भने ।
अर्का महामन्त्री घिमिरेले पनि अद्यावधिक गराउँछु भनेर कोही नेता आए पुनर्विचार गर्न सकिने बताए । ‘अद्यावधिक गराउँछु भनेर कोही आउनुभयो भने हामी पुनर्विचार गर्न सक्छौं,’ उनले भने, ‘नभए पार्टीको निर्णय भनेको अनन्तकालसम्म जाँदैन । अनन्तकालसम्म समय पनि रहँदैन ।’
क्रियाशील सदस्यतालाई डिजिटल प्रणालीमा व्यवस्थित बनाउन सबै क्रियाशील सदस्यहरूलाई सदस्यता अद्यावधिक गर्न आग्रह गरेको महामन्त्री घिमिरेको भनाइ छ । ‘आग्रहअनुसार कुनै सदस्यले सदस्यता अद्यावधिक गर्ने–नगर्ने कुरा उसको स्वेच्छिक कुरा हो ।’
कांग्रेसले बिहीबार राति १२ बजेसम्मका लागि सदस्यता अद्यावधिकको समयसीमा तोकेको थियो । उक्त समयावधिभित्र पाँच लाख ३८ हजार ६२२ जनाले क्रियाशील सदस्यता अद्यावधिक गराएका छन् ।
बिहीबार राति १२ बजेसम्ममा वडा सभापतिमार्फत पाँच लाख ३८ हजार ६२२ जनाले ‘एनसी आईडी’ (कांग्रेस परिचयपत्र) प्राप्त गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
उनले एक लाख ४९ हजार ३०९ जनाले वडा सभापतिमार्फत अद्यावधिकका लागि फारम पेश गरेको र सदस्यता अद्यावधिक कार्यको प्रक्रियामा रहेको रहेको पनि बताए ।
जसअनुसार कांग्रेसका छ लाख ८७ हजार ९३१ जना क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिक हुने देखिएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिका अनुसार सात लाख ८२ हजार २०९ सदस्यहरू अद्यावधिकका लागि योग्य थिए ।
पार्टीले समयसीमा तोकेर अद्यावधिक गराउन भने पनि निवर्तमान सभापति देउवा र उनीसँग अघिल्लो महाधिवेशनमा प्रतिष्पर्धा गरेका नेता डा। कोइराला समूहका पूर्वपदाधिकारीसहितका अधिकांश शीर्ष नेताहरूले सदस्यता अद्यावधिक गरेका छैनन् ।
देउवा र कोइरालासँगै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, निवर्तमान उपसभापति धनराज गुरुङ, पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला, डा. शशांक कोइरालाको सदस्यता अद्यावधिक भएको छैन ।
यस्तै निवर्तमान सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, उमाकान्त चौधरी, किशोरसिंह राठौर, बद्री पाण्डे, निवर्तमान प्रवक्ता डा। प्रकाशशरण महत, निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, ले पनि सदस्यता अद्यावधिक गरेका छैनन् ।
नेताहरू एनपी साउद, रमेश लेखक, श्याम घिमिरे, शंकर भण्डारी, वीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश सभापति), निवर्तनमान केन्द्रीय सदस्यहरू गुरू बराल, कुन्दनराज काफ्ले, डा। रणबहादुर रावल, मानबहादुर नेपाली, किरण शर्मा पौडेल, कान्तिका सुजेवाल, विद्या तिमिल्सिना, रमा कोइराला, शान्ति विक, सीता देवकोटालगायतले पनि सदस्यता अद्यावधिक गरेका छैनन् ।
यस्तै शिव हुमागाइँ, कल्याणकुमार गुरूङ, गोविन्द शाह, दीपक खड्का, दीपक गिरी, रामजनम चौधरी, सीता गुरूङ, लक्ष्मी खतिवडा, सीता राना, कल्याणी रिजाल, पुष्प पराजुली, गणेश लामा, गोमा भट्टराई, किरण यादव, कृष्णकिशोर घिमिरे, सरिता प्रसाईं, माया राई, नृप वड, सरस्वती तिवारी, ईश्वरी न्यौपाने, सुजाता परियार, अम्बिका बस्नेत, अञ्जली श्रेष्ठ, मदन अमात्य, राजीवविक्रम शाह, राधा घले, सरस्वती बजिमय, हरिशरण नेपालीको पनि सदस्यता अद्यावधिक भएको छैन ।
यिनीहरू सबै १४ औं महाधिवेशनमा देउवा र कोइराला प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । केही नेताहरू आमन्त्रित सदस्य पनि रहेका छन् ।
कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा सदस्य रहेकाहरू कृष्णप्रसाद पौडेल, खम्मबहादुर खाती, कृष्णबहादुर रोकाया, जीतजंग बस्नेत, जगत तिमिल्सिना, ललितजंग शाहीलगायतले पनि सदस्यता अद्यावधिक नगरेको इतर समूहका एक नेताले जानकारी दिए ।





