३१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बहुमतको आडमा कानूनलाई राजनीतिक हतियारका रूपमा प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका छन्।
आइतबार पार्टीको केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सानेपामा गरेको कार्यक्रममा सभापति थापाले संवैधानिक मर्यादा र विधिको शासनलाई बेवास्ता नगर्न चेतावनी दिएका हुन्।
सभापति थापाले २०४८ सालजस्तै अनुकूल राजनीतिक वातावरण र २०१५ सालजस्तै जनसमर्थन प्राप्त भएको अवस्थामा सरकारले मुलुकको बृहत्तर हित हुनेगरी परिणाम निकाल्नुपर्ने तर्क गरे। उनले सरकारले संविधानभित्रै रहेर बनेको कुरामा हेक्का राख्नुपर्ने बताए।
‘२०४८ सालको जस्तो अनुकुलता भएको र वि।स। २०१५ सालको जस्तो जनसमर्थन प्राप्त गरेको सन्दर्भमा अर्थमन्त्रीज्यूले भनेको जस्तो मुलुकमा आर्थिक रुपान्तरण होस् भन्ने हाम्रो अपेक्षा छ’, उनले भने, ‘सरकार यो विषयमा ठिक ढंगले काम गर्दा हाम्रो समर्थन पनि रहन्छ । तर एउटा कुरा चाहिँ मैले यो सरकारलाई सम्झाउनुपर्छ ‘ड्यू प्रोसेस अफ ल’, ‘रुल अफ ल’ र रुल बाइ ल’ यो ती वटा कुरा हाम्रो साथीहरुले पनि याद गर्नुहोला। यो कुरा हामीले सरकारलाई पनि याद दिलाउनुपर्नेछ।’
थापाले संसदीय प्रक्रियामा त सरकार जहिल्यै बहुमतमा हुने र संसदको बहुमतबाट कानून बनाउनसक्ने भन्दै त्यो कानून बनाउँदै गर्दाखेरी कानूनसम्मत भएको छ कि छैन विचार गर्नुपर्ने बताए। ‘म संविधानभित्र छु, संविधानको परिधिभित्र छु, संविधानभन्दा माथि छैन, कानून बनाउने प्रक्रियामा सबैलाई सहभागी गराउनुपर्छ, सर्वोत्तम हितका निमित्त कानूनको प्रयोग गर्ने हो भन्ने कुरामा सरकारले हेक्का राख्नैपर्छ’, उनले भने।





