१ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिका र काठमाडौं मेडिकल कलेज (केएमसी) पब्लिक लिमिटेडबीच नगरपालिकाका स्थायी बासिन्दालाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्ने उद्देश्यले आज सम्झौता भएको छ।
मेयर दीपक कुमार रिसाल र डा. सुनिल शर्माको पहलमा भएको सम्झौतामा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली र काठमाडौं मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद दाहालले हस्ताक्षर गरेका छन्। सम्झौता २०८३ साउन १ गतेदेखि लागू भई २०८४ असार मसान्तसम्म कायम रहनेछ।
सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा उपचारका लागि काठमाडौं मेडिकल कलेज पुगेका सेवाग्राहीले नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कार्यक्रम, स्वास्थ्य बीमा तथा अन्य उपलब्ध सुविधाको उपयोग गरिसकेपछि मात्रै यस सम्झौताअन्तर्गतको सहुलियत प्राप्त गर्नेछन्।
केएमसीको दुवाकोट युनिटमा साधारण शैयामा भर्ना भएर उपचार गराउने गोकर्णेश्वरका स्थायी बासिन्दाले औषधि, औषधिजन्य सामग्री, उपकरण, ईएचएस, आईयूआई/आईभीएफ, सीटीभीएस सर्जरी, कलेजो प्रत्यारोपण, न्युरो इन्टरभेन्सन, सौन्दर्य तथा कसमेटिक सेवा, इम्प्लान्ट र क्याबिनबाहेकका उपचार सेवामा ५० प्रतिशत छुट पाउनेछन्।
यस्तै सिनामंगल शाखामा उपचार गराउँदा सोही प्रकृतिका सेवामा २५ प्रतिशत छुट उपलब्ध हुनेछ।
दुवाकोटमा उपचार गरिएका बिरामीको कुल खर्चको ५० प्रतिशत तथा सिनामंगलमा उपचार गरिएका बिरामीको कुल खर्चको ७५ प्रतिशत रकम गोकर्णेश्वर नगरपालिकाले काठमाडौं मेडिकल कलेजलाई शोधभर्ना गर्ने व्यवस्था गरिएको छ।
उक्त सहुलियत प्रतिव्यक्ति वार्षिक एक लाख तीन हजार रुपैयाँसम्मको उपचार खर्चमा लागू हुनेछ। सोभन्दा बढी खर्च बिरामी स्वयंले व्यहोर्नुपर्नेछ।
सम्झौतामा मिर्गौला प्रत्यारोपणका बिरामीलाई विशेष सहुलियतको व्यवस्था पनि गरिएको छ।
गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दाले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा प्रतिव्यक्ति थप तीन लाख नौ हजार रुपैयाँ नगरपालिकाबाट प्राप्त गर्नेछन्। अन्य सहुलियत रकमसमेत जोड्दा एक व्यक्तिले अधिकतम चार लाख १२ हजार रुपैयाँसम्म सहयोग पाउन सक्ने व्यवस्था गरिएको छ।
त्यस्तै, विपन्न नागरिक तथा स्वास्थ्य बीमालगायतका सुविधा प्रयोग गरिसकेपछि पनि रकम अपुग भएमा काठमाडौं मेडिकल कलेजले थप चार लाख १२ हजार रुपैयाँसम्म छुट उपलब्ध गराउनेछ। त्यसपछिको रकम भने बिरामी स्वयंले तिर्नुपर्नेछ।
उपचारका क्रममा आवश्यक पर्ने रगत उपलब्ध गराउन नगरपालिकाले अस्पतालमा सिफारिस गर्नेछ भने रगतको प्रयोगशाला परीक्षण शुल्कबापत प्रतिपिन्ट एक हजार दुई सय १० रुपैयाँ नगरपालिकाले अस्पताललाई शोधभर्ना गर्ने व्यवस्था गरिएको छ।
सहुलियत प्राप्त गर्न सेवाग्राहीले उपचार सहुलियतका लागि निवेदन, नागरिकता, मतदाता परिचयपत्र, विवाह दर्ता प्रमाणपत्र, नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र तथा बीमितको हकमा बीमा कार्ड पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
नगरपालिकाले यो सम्झौताले गोकर्णेश्वरका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न तथा आर्थिक भार कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।





