३ असार, काठमाडौं । रास्वपाका सांसद मनिष झाले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई बालहठ नराख्न आग्रह गरेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफमा चित्त नबुझेको भन्दै उठेर विरोध जनाएपछि रास्वपाका प्रवक्ता समेत रहेका झाले जवाफ फर्काएका हुन्।
उनले भने, ‘प्रतिनिधि सभा नियमावलीको ५४ नम्बर र ५५ नम्बरमा प्रश्नोत्तर सम्बन्धी स्पष्ट नियम उल्लेख गरिएको छ। यसमा सभामुखको क्षेत्राधिकारको कुरा पनि उल्लेख गरिएको छ। त्यसैले पटकपटक वादविवाद गर्ने, मेरो प्रश्नको जवाफ आएन भन्न मिल्दैन। मन्त्रीले उत्तर दिन अस्वीकार गर्न सकिने अधिकार पनि उल्लेख गरिएको छ।’
उनले बालहठ नगर्न आग्रह गर्दै भने, ‘नियम कानूनको कुरा गर्दै हुनुहुन्थ्यो, नियम त लेखिएकै छ। स्पष्ट लेखिएकै छ। त्यसैले गर्दा नियम पढ्नुस्, यसमा पेज नम्बर ३२ मा बुँदा नम्बर ५४ र ५५ मा लेखिएको छ।’
सभामुखले स्पष्टीकरणमाथि फेरि प्रश्न नहुने भन्दै उठेर विरोध जारी राखेपछि सभामुखले बस्न आदेश दिए। तर अटेर गरेपछि सभामुखले बैठक अगाडि बढाए।





