प्रचण्डलाई झलनाथकाे पत्रबम- तपाईं माधव नेपालको सुनियोजित जालमा फँस्नुभयाे (पूर्णपाठ)

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेता झलनाथ खनालको पार्टी विधान, कार्यविभाजन र आगामी महाधिवेशनको तयारीका सन्दर्भमा ३६ बुँदे असहमतिसहित पत्र स‌ंयाेजक प्रचण्डलाई पठाएका छन् । पत्रले नेकपामा सांगठनिक असन्तुष्टि र नेतृत्वमाथिको प्रश्न छताछुल्ल भएको छ ।

खनालले प्रचण्डलाई ‘दक्षिणपन्थी अवसरवाद र गुटबन्दीको फन्दामा परेको’ आरोपसहित ७ महिनादेखि आफूलाई जिम्मेवारीविहीन बनाएकोमा आपत्ति जनाएका छन् ।

आफ्नो ६ दशक लामो राजनीतिक इतिहास स्मरण गराउँदै पार्टी एकताबद्ध भएदेखि हालसम्म आफूलाई कुनै जिम्मेवारी नदिई ‘अपमानजनक’ ढंगले राखिएको लेखेका छन् ।

‘तपाईं (प्रचण्ड) आफू सरहको नेतालाई जिम्मेवारी दिन सक्नुहुन्न भने मलाई किन एकतामा आउन आग्रह गर्नुभएको ?’ उनको प्रश्न छ ।

खनालले पार्टी विधानमा प्रजातान्त्रिक समाजवाद र जनताको बहुदलीय जनवाद (जबज) का अवशेषहरू घुसाइएको भन्दै वैचारिक विचलनको मुद्दा उठाएका छन् ।

उनले लेखेका छन्- तपाईंले वैज्ञानिक समाजवादलाई छोडेर कांग्रेसले बोक्ने प्रजातान्त्रिक समाजवादको बाटो समात्नुभयो, यो कम्युनिस्ट आन्दोलनप्रतिको ठूलो गद्दारी हो ।

पार्टीभित्र वैचारिक रोग छिरेको भन्दै यसले नेकपालाई विघटनतर्फ लैजाने उनको चेतावनी छ ।

खनालले प्रचण्डलाई अर्का नेता माधव कुमार नेपालको दबाब र प्रभावमा परेर निर्णय गर्ने गरेको आरोप लगाएका छन् ।

उनले लेखेका छन्- तपाईं माधव नेपालको सुनियोजित जाल र दबाबमा यसरी फस्नुभयो कि म त तीन छक्क परेको छु । विशेषगरी अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी आफूलाई दिने मौखिक सहमति भए पनि माधव नेपालले ‘देश घुम्ने स्वार्थ’ का लागि उक्त विभाग आफैँसँग राखेको र प्रचण्डले त्यसमा लाचार आत्मसमर्पण गरेको खनालको दाबी छ ।

खनालले पार्टीको ‘सह-संयोजक (माधव नेपालतर्फ संकेत गर्दै) माथि १९ करोडको भ्रष्टाचार मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा उच्च पद दिनु अनैतिक भएको टिप्पणी गरेका छन् ।

‘भ्रष्टाचारको मुद्दा खेपिरहेको व्यक्तिलाई पार्टीको सह-संयोजक बनाउनु कुन नैतिकताले दिन्छ ?’ भन्दै खनालले प्रश्न सोधेका छन् ।

पार्टीभित्र विधि र पद्धति मिचिएको भन्दै खनालले भीम रावललाई अपमानित गरिएको र हरिबोल गजुरेललाई स्पष्टीकरणको मौका समेत नदिई निष्कासन गरिएकोमा आपत्ति जनाएका छन् । नेताहरूलाई ‘दास’ बनाउन खोजिएको र विधिभन्दा व्यक्ति हाबी भएको उनको तर्क छ ।

‘तपाईं र सह-संयोजकले अब मार्गप्रशस्त गर्नुहोस् र नयाँ, योग्य तथा विचारवान् पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने साहस गर्नुहोस्,’ खनालले भनेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी