रेबिज विरुद्धको ‘एआरभी’ भ्याक्सिन देशभर अभाव, आइपुग्न एक महिना लाग्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ – सरकारले समयमा नै खरिद नगर्दा देशभर एन्टी रेबिज भ्याक्सिन (एआरभी) अभाव भएको छ ।

कुकुर लगायतका जनवारले टोकेर हुने प्राणघातक रोग रेविज विरुद्धको एआरभी खोप जनस्वास्थ्यको हिसाबले अत्यावश्यक खोप हो। तर यही खोप यतिखेर देशभर अभावको अवस्थामा छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एआरभी खोपको स्टक कम हुँदै गए पनि समयमै खरिद प्रक्रिया अगाडि नबढाएपछि खोपको कमी भएको हो।

हाल टेकुस्थित केन्द्रीय भण्डार कक्षमा नै खोप न्यून मात्रामा रहेको छ। यसले गर्दा अहिले एन्टिरेविज भ्याक्सिन एआरभी सर्टेजकै अवस्थामा रहेको छ।

खोप लगायतका स्वास्थ्य सामाग्री खरिद गर्ने विभाग अन्तर्गको व्यवस्थापन महाशाखा प्रमुख केशवराज पण्डितका अनुसार खरिद प्रक्रिया द्रुत गतिमा अघि बढे पनि भ्याक्सिन आइपुग्न अझै एक महिना लाग्ने छ ।

व्यवस्थापन महाशाखा प्रमुख पण्डितले भने ‘ एआरभी खोप को खरिद प्रकृया अघि बढेको छ तर खोप आइपुग्न अझै एक महिना लाग्न सक्छ तर खोप छिटो ल्याउन हामीले काम गरिरहेका छौँ।’

यतिखेर उपत्यका बाहिर एआरभी भ्याक्सिनको अभाव भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एआरभी भ्याक्सिन लगाउन आउने बिरामी बढ्न थालेका छन्।

चालु आर्थिक वर्षमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले खोप खरिद गर्न नसकेका कारण देशभरबाट टेकु अस्पताल आउनेको भिड बढेको हो।

‘समयमा भ्याक्सिन खरिद गर्न नसक्दा यो पटक पनि एआरभी भ्याक्सिन अभाव भएको छ, दुई महिना देखि नै उपत्यका बाहिरबाट भ्याक्सिन सकिएको भन्ने खबर आए पनि आपूर्ति हुन सकेको छैन तर अब खरिद प्रक्रियालाई छिटो गराएर भ्याक्सिनको आपूर्ति पूरा गर्न लागिएको छ त्यसको लागि सबै सरोकारवलासँग तीव्ररूपमा छलफल भइरहेको छ।’

एआरभी भ्याक्सिन एकै पटक देशभर अभाव हुन थाले पछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले खरिद प्रक्रियालाई छिटो गराउने, विश्व स्वास्थ्य संगठनसँगको समन्वय तथा अन्य सहयोगी संस्थाहरूसँग सहयोग समेत माग्न थालेको छ।

देशभर हरेक वर्ष करिब ३ लाख हाराहारीमा कुकुरलगायत जनावरको टोकाइबाट प्रभावित हुने अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको छ।

नेपालमा रेबिजका कारण वार्षिक १०० जनासम्मको मृत्यु हुने गरेको छ।

नेपालमा ल्याइने रेबिज विरुद्धको एआरभी भ्याक्सिन एउटा भारतीय कम्पनीले मात्र उत्पादन गर्दै आएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा रेबिजका कारणले करिब ६० हजार मानिसको मृत्यु हुने गरेको छ। १ करोड मानिसलाई रेबिजको उपचार आवश्यक पर्ने गरेको छ।

एशिया क्षेत्रमा मात्रै रेबिजका कारण ३५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्यांक छ।

कतिपय देशले भने कुकुरलाई अनिवार्य खोप र मानिसका लागि रेबिज खोपको राम्रो व्यवस्थापन गरेका छन्।

यदि कुकुर तथा अन्य जनावरले टोक्यो र त्यसमा रेबिज भाइरस रहेछ भने १० दिनमा त्यो जनावर मर्छ र उक्त जनावरले टोकेको ४८ देखि ७२ घण्टासम्म भ्याक्सिन लगाउनुपर्छ।

यदि कुनै पनि कुकुर तथा अन्य जनावरले टोक्यो र त्यसमा रेबिज भाइरस रहेछ भने १० दिनमा त्यो जनावर मर्ने र त्यही समयसम्म अनिवार्य ३ वटा भ्याक्सिन लगाउन सकियो भने रेबिज लाग्न पाउँदैन।

यदि खोप लगाइएन र रेबिज संक्रमण देखियो भने मानिसको मृत्यु हुन्छ‚ जसकारण रेबिजलाई प्राणघातक रोग भन्ने गरिन्छ। रेबिजविरुद्धको भ्याक्सिन सरकारले निःशुल्क वितरण गर्दै आइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्