चितवनमा आइतबारदेखि सुरू हुने पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजाने भएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नेता वर्षमान पुनलाई पठाउने भएको छ।
रास्वपाले नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्ता दिएको थियो।
स्वास्थ्यका कारण सहभागी हुन नसक्ने भएकाले नेता पुनलाई पठाउने तय भएको संयोजक प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
‘हिजोसम्म उहाँ जाने नै भन्ने थियो। हिजो बाहिर जानुभएको थियो। अलि गाह्रो भएको जस्तो भयो। चितवन अली गर्मी पनि छ चिकित्सकले पनि दुई दिन रेस्ट गर्न भन्नु भएकाले उहाँको सहभागिता नहुने भयो,’ आचार्यले भने।
प्रचण्ड जेठ १६ गते अस्पताल भर्ना भई केहि दिन उपचारपश्चात डिस्चार्ज भएका थिए। उनी पूर्ण रूपमा अझै ठिक भइनसकेका कारण रास्वपा महाधिवेशनमा सहभागी नहुने भएका हुन्।
राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन नै सहभागी हुने तय छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि सहभागी नहुने बताइसकेका छन्।
त्यस्तै महाधिवेशनमा एमालेले भने केन्द्रीय सदस्य प्रदीप ज्ञवालीलाई पठाउने भएको छ।





