एमालेको कार्यक्रमबाटै समातिए पौडेल, एसपी भन्छन्-माथिको आदेशानुसार स-सम्मान पक्राउ गरेका हौं

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

८ असार, काठमाडौं । नेकपा एमालेमा नेतृत्व पुनःगठनको पक्षमा उभिएका उपाध्यक्ष विष्णुप्रसाद पौडेल सोमबार साँझ सुर्खेतमा अकस्मात पक्राउ परे ।

उनलाई पार्टीले आयोजना गरेको कार्यक्रमस्थलबाटै प्रहरीले समातेर लगेपछि एमालेका नेता–कार्यकर्ता स्तब्ध बनेका छन् ।

पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव सङ्कलनअन्र्तगत कर्णाली प्रदेशस्तरीय कार्यक्रममा भाग लिन पौडेलसहितका नेताहरु सुर्खेत पुगेका थिए । कोशी, लुम्बिनी, सुदूरपश्चिमको कार्यक्रम सकाएर आइतबार मात्रै टोली त्यहाँ पुगेको हो ।

सोमबार बिहान ११ बजेबाट सुर्खेतस्थित शुभ होटलमा कार्यक्रम चलिरहेको थियो । एमाले कर्णाली प्रदेश कमिटीका पदाधिकारीहरु, प्रदेशका सबै जिल्लाका पदाधिकारीहरु र प्रदेशबाट केन्द्रमा रहेका नेताहरु सहभागी यो कार्यक्रममा नेताहरुले पक्ष र विपक्षमा आफ्ना धारणाहरु राखिरहेका थिए । प्रदेशका अधिकांश जिल्ला तथा अन्य नेताहरुले बोलिसकेका थिए ।

सुर्खेतका नेताहरुले मात्र बोल्न बाँकी रहेको समयमा एक्कासी सनसनीपूर्ण खबर आयो–नेता विष्णु पौडेललाई पक्राउ गर्न प्रहरी आइपुग्यो । कार्यक्रमस्थलमा रहेका एमाले केन्द्रीय सदस्य रुद्र शाहीका अनुसार सादा पोशाकमा रहेका प्रहरीले ‘माथिको निर्देशन’ भन्दै हल बाहिर बोलाए । उनीहरुसँगै सुर्खेतका एसपी ठाकुर पोखरेल होटल परिसरमा पुगेका थिए ।

शाहीले नेपाल प्रेससँग भने, ‘हामी आश्चर्यमा परेका छौं । पक्राउ गर्ने तयारीसहितको अनुसन्धान भएको जानकारी हाम्रा नेताहरुलाई नभएको हो कि ? यति ठूलो कार्यक्रमको बीचबाट किन पक्राउ गर्नुपरेको होला ? अनुसन्धानको कुनै प्रक्रिया त होला । केही समयमा कार्यक्रम सकिनै थालेको थियो ।’

शाहीका अनुसार त्यहाँ पुगेका सादा पोशाकमा प्रहरीले अनुसन्धानका लागि ‘काठमाडौँ जानुपर्‍याे सर’ भनेर बाहिर बोलाएका थिए । पछि एसपीले ‘माथिको आदेशानुसार जानुपर्ने’ कुरा सुनाएपछि पौडेललाई प्रहरीले लगेको हो ।

शाहीका अनुसार करिब ५ बजेको समयमा पौडेललाई नियन्त्रणमा लिइएको थियो । उनलाई सोमबार नै सुर्खेतबाट नेपालगञ्ज ल्याइएको छ । आज कुनै उडान नभएकाले मंगलबार बिहान मात्रै काठमाडौं पठाइने सुर्खेतका एसपी ठाकुर पोखरेलले नेपाल प्रेसलाई बताए ।

‘उहाँहरु हिजो नै सुर्खेत आउनुभएको थियो । शुभ होटलमा कार्यक्रम करिब सकिएकै थियो होला । हामीलाई माथिबाट अनुसन्धानका लागि पठाउन आदेश भएअनुसार स–सम्मान पठाएका हौं । आज नेपालगञ्जबाट काठमाडौँको उडान छैन भन्ने छ । भोलि बिहान नै जानुहुन्छ होला,’ एसपी पोखरेलले भने ।

पौडेलबाहेक अरु नेताहरुलाई केही नगरिएको र उनीहरु यतै रहेको पोखरेलको भनाइ छ । ‘पौडेल मात्रै जानुभएको हो । अरु नेताहरु यतै हुनुहुन्छ । भोलिसम्म कार्यक्रम छ भन्ने सुनेको छु,’ उनले भने ।

पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको शिलशिलामा पक्राउ गरिएको बताइएको छ । सोमबार उनी हाल बसिरहेको काठमाडौँ भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको थियो ।

पौडेल पार्टीभित्र नेतृत्वसहितको पुनःगठन अभियानलाई अगाडि सारेर देशव्यापी अभियानमा निस्केका थिए । कर्णालीमा पनि शीर्ष नेताहरु पुगेपछि पुनर्गठनको पक्षमा नेताहरु बोले पनि महाधिवेशनबाट चुनिएका अध्यक्षलाई फेरेर पार्टी नबन्ने आवाज पनि उठेको थियो । तर धेरै नेताहरुले पुनःगठनकै पक्षमा बोलेका छन् ।

नेकपा एमाले पुनर्गठन सम्बन्धी सुझाव सङ्कलन कार्यक्रमका लागि पौडेलसहित उपाध्यक्षहरू रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ र महासचिव शंकर पोखरेललगायतका नेताहरू कर्णालीमा थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्