सम्पर्क कार्यालय खोल्दै कांग्रेसको इतर समूह, संस्थापन पक्षसँग संवादहीनता रहेको दाबी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

११ असार, काठमाडौं । नेपाली कांग्रेसमा सहमतिको सम्भावना कमजोर बन्दै गएको छ।

सभापति गगन थापासँग कुरा मिल्ने सम्भावना कमजोर बन्दै गएपछि इतर पक्षले छुट्टै कार्यालय खोल्ने तयारी गरेको हो।

१५औँ महाधिवेशनको तयारी गर्नको लागि सम्पर्क कार्यालय खोल्न लागेको इतर पक्षका नेता मीनबहादुर विश्वकर्माले बताए।

उनले नेपाल प्रेससँग भने, ‘हाम्रो अहिलेसम्म कुनै कार्यालय छैन। महाधिवेशनको तयारी गर्नुपर्नेछ। नेताहरूको भेटघाट गर्नको लागि पनि त्यसैले सम्पर्क कार्यालय राख्न लागेका छौँ। काठमाडौँको महाराजगन्जस्थित चुनदेवी हुनसक्छ। विभिन्न ठाउँमा हेरिरहेका छौँ।’

उनले एक दुई दिनमा सम्पर्क कार्यालय खुल्ने बताए। अहिले संस्थापन पक्षसँग संवादहीनको अवस्थामा रहेको बताए।

उनले थपे, ‘तीन हप्ताअगाडि विश्वजीले प्रस्ताव पठाउनुभएको थियो। त्यही प्रस्तावलाई आधार बनाएर उहाँले पूर्ण दाइ सँग पनि छलफल गर्नुभएको थियो। उहाँले सभापतिसँग बसेर सबै कुरा टुंग्याउनेगरी जानुभएको थियो। त्यसयता कुनै संवाद भएको छैन।’

उनले सम्पर्क कार्यालय खड्का समूहको मात्रै नभए डा. शेखर कोइराला समूह पनि सहभागी हुने विश्वास व्यक्त गरे।

उनले भने, ‘हाम्रो मुद्दा एउटै छ। अहिलेसम्म सँगै छौँ। त्यसैले सम्पर्क कार्यालयमा शेखर दाइहरू पनि आउनुहुन्छ भन्ने हाम्रो विश्वास हो।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्