विराटनगर पुगेर प्रचण्डले भने-एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) सँग सदन, सडक र आगामी निर्वाचनमा समेत सहकार्य हुने बताएका छन् ।

विराटनगरमा आयोजित पार्टीको काेशी प्रदेश कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै संयोजक दाहालले एमालेसँगको सहकार्यबारे सकारात्मक वातावरण बनेको बताए । उनले सहकार्य केवल नीति मात्र नभई पार्टीभित्रको छलफलबाट आएको निष्कर्ष भएको उल्लेख गरे ।

‘अहिले सदनमा बलियो उपस्थिति जनाउन पनि सहकार्य आवश्यक भएको छ। सडकमा पनि सहकार्य हुन्छ र आगामी निर्वाचनमा समेत सहकार्य हुनेछ’, उनले भने ।

उनले तत्कालै पार्टी एकता हुने अवस्था भने नरहेको स्पष्ट पार्दै सहकार्यका लागि आवश्यक आधार तयार भएको बताए ।संयोजक दाहालले पार्टीको आगामी महाधिवेशनले नयाँ राजनीतिक क्रमको सुरुआत गर्ने दाबी गरे ।

‘म जस्तोसुकै क्रम भङ्ग गर्न सक्छु । महाधिवेशनले नयाँ क्रम भङ्ग हुनेछ। प्रचण्डको यो अन्तिम क्रम भङ्ग हो, त्यसका लागि तयार रहनुस्’, उनले भने । उनले पार्टीप्रतिको प्रतिबद्धता व्यक्त गर्दै ‘पोले पनि घामै जाती, पिटे पनि आमै जाती, आफ्नै पार्टी जाती’ भन्ने अभिव्यक्ति दिए ।

रास्वपामाथि प्रचण्डको आलोचना
संयोजक दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समेत आलोचना गरे । उनले सरकारमा गएको एक सय दिन नपुग्दै रास्वपाले आफ्नो चरित्र देखाइसकेको दाबी गरे ।

सीमा क्षेत्रमा एक सय रुपैयाँभन्दा माथिका सामानमा भन्सार लगाउने निर्णय र सुकुम्वासी बस्ती हटाउने कार्यलाई उल्लेख गर्दै उनले रास्वपा गरिब, सुकुम्वासी, जनजाति तथा सीमान्तकृत समुदाय विरोधी भएको आरोप लगाए ।

‘म रास्वपालाई धन्यवाद दिन चाहन्छु । उनीहरू हाम्रो कारणले होइन, आफ्नै कारणले जनताबाट धारे हात लाग्ने अवस्थामा पुगेका छन्’, उनले भने ।

सरकारमाथि फासिवादी शैलीको आरोप
दाहालले वर्तमान सरकार नवउदारवादी र फासिवादी शैलीमा अघि बढेको आरोप लगाउँदै गरिब तथा सीमान्तकृत समुदायविरुद्ध नीति लिएको दाबी गरे ।

रास्वपाले प्रदेशसभा र संविधान नै खारेज गर्ने एजेन्डा अघि सारेको आरोप लगाउँदै उनले कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । ‘अब जाग्ने कि नजाग्ने ? हामी कम्युनिस्ट हुने कि नहुने ? कम्युनिस्ट नभईकन यो फासिवादविरुद्ध लड्न र जित्न सकिँदैन । कम्युनिस्ट हुने सङ्कल्प नलिएसम्म यो निरङ्कुशताविरुद्ध लड्न सकिँदैन’, उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्