काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण बढेको डिजेल, पट्रोललगायतका इन्धनको मूल्य अब घट्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा वाग्लेले द्वन्द्वको अवस्था सहज हुँदै गएकाले अब ती वस्तुहरूको भाउ पनि घट्ने बताएका हुन्।
अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको भए पनि नेपालमा भारतीय आयल निगममार्फत ती इन्धन आउन बाँकी रहेकाले हालसम्म त्यसको मूल्य घटाउने अवस्था नरहेको जिकिर गरे। केही समय लागे पनि पेट्रोलियम पदार्थको मूल्य अब घट्ने अवस्थामा रहेको उनको भनाइ छ
‘अहिले मध्यपूर्वको अवस्था सहज हुँदै गयो। अब टाइम ल्याक त हुन्छ । क्रुड प्राईस त घटिनै सक्यो’, उनले भने,‘तर त्यो प्रोसेस इन्धन हुँदै भारतीय आयल निगममार्फत हामीेले जुन आयात गर्ने गरेका छौँ । त्यो एडेष्ट भएर नेपालमा आउन केही समय लाग्ला । तर मूल्य अब घट्नेवाला छ।’
अर्थमन्त्री वाग्लेले आफूले अर्थमन्त्री हुने बित्तिकै उक्त इन्धनको मूल्य घटाउनका लागि पहल गरेको दाबी गरे. ‘मध्यपूर्वमा जुन समस्या देखियो। यसका कारण यो इन्धनमा भएको मूल्यवृद्धिबाट आम उपभाक्तालाई परेको भार घटाउन अर्थमन्त्री भएको दुई हप्ताभित्रै यो डिजेल, पेट्रोल र मट्टितेल पैठारीमा लाग्ने भन्सार महशुल र डिजेल तथा पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको ५० प्रतिशत छुट हामीले दियौँ।’





