काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्रको अन्तरसङ्घर्ष, विभाजनबाट उत्पन्न निराशाका कारण मुलुकमा ‘पपुलिजम’ को उदय भएको बताएका छन् ।
शनिवार ललितपुरमा आयोजित ‘एमाले पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेबाट नयाँ पुस्ता मात्र नभई सामाजिक सुरक्षासँग जोडिएको पुरानो पुस्ता समेत टाढिँदै गएको स्वीकार गरे ।
उनकाअनुसार भदौ २३ गतेको घटनालाई जुन रूपमा चित्रण गरियो, त्यसले महिलाहरूको मानवीय संवेदनशीलतालाई उद्वेलित बनाएका कारण पार्टीलाई सधैँ साथ दिने दिदीबहिनी तथा आमाहरू समेत टाढिएका छन् । महासचिव पोखरेलले नेकपा गठनका समयमा जनतामा जगाइएको आकांक्षा पूरा हुन नसक्नु, पार्टीभित्रको तीव्र अन्तरसङ्घर्ष, नेकपाको विघटन र एमालेको विभाजन नै वर्तमान राजनीतिक निराशाको मुख्य कारण भएको औँल्याए ।
उनले पार्टी विभाजनका क्रममा एकले अर्कालाई लगाएका आरोप–प्रत्यारोपले आम जनतामा नकारात्मक सन्देश गएको र त्यही जगमा आजको ‘पपुलिजम’ जन्मिएको विश्लेषण गरे ।
‘नयाँ पुस्ता पनि हामीबाट टाढिएको कुरा सत्य नै हो । नयाँ पुस्ता मात्रै होइन, सामाजिक सुरक्षासँग जोडिएको पुरानो पुस्ता पनि यस पटकको निर्वाचनमा हामीसँग रहेन । यतिसम्म कि २३ गतेको घटनाका कारण आम रूपमा दिदीबहिनी र आमाहरू पनि हाम्रा साथमा रहेनन्,’ उनले भने, ‘तर म कमरेडलाई के कुरा बताउन चाहन्छु भने, नेकपा गठनका समयमा हामीले जागृत गरेको आकाक्षा, नेकपाभित्रको अन्तरसङ्घर्ष, नेकपाको विघटन र त्यसपछि एमालेको विभाजनका कारण उत्पन्न भएको निराशा नै आजको पपुलिजमको जन्मको एउटा महत्वपूर्ण आधार हो ।’
पार्टीलाई पुनः जनस्तरमा स्थापित गर्न र गुमेको जनविश्वास फर्काउन जागरण अभियानको विशेष महत्त्व रहने उनले उल्लेख गरे ।





