प्रधानमन्त्री भएपछि बालेन शाह पहिलो पटक विदेशी अधिकारीसँग भेट्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डु- प्रधानमन्त्री बालेन शाह पदभार सम्हालेयता पहिलो पटक कुनै विदेशी अधिकारीसँग भेटवार्ता गर्ने भएका छन् ।

पदभार ग्रहण गरेपछि प्रधानमन्त्री शाहले विदेशी कूटनीतिज्ञ तथा उच्च अधिकारीसँग व्यक्तिगत भेट नगर्ने अभ्यास अपनाउँदै आएका छन् ।

प्रधानमन्त्री शाह एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डासँग मंगलबार भेट गर्ने कार्यक्रम तय भएको छ ।

एडीबीका अध्यक्ष कान्डासँगको भेटलाई विदेशी कूटनीतिज्ञ तथा उच्च अधिकारीसँग व्यक्तिगत भेट नगर्ने प्रधानमन्त्रीको नीतिमा आएको पहिलो परिवर्तनका रूपमा हेरिएको छ ।

परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार अध्यक्ष कान्डाले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्ले तथा अन्य सरकारी

अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् भने मंगलबार प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

कान्डासहित एडीबीका वरिष्ठ अधिकारीहरू पनि नेपाल आउँदै छन् । प्रतिनिधिमण्डलमा दक्षिण, मध्य तथा पश्चिम एसियाका लागि एडीबीकी उपाध्यक्ष तथा नेपाली नागरिक सोना श्रेष्ठ पनि रहनेछिन् ।

परराष्ट्र मामिलाका जानकारहरूले प्रधानमन्त्री शाहले विदेशी नेता तथा अधिकारीसँगको भेटघाटमा अपनाएको कडा प्रोटोकललाई नेपालको कूटनीतिक अभ्यासमा नयाँ दिशा दिने प्रयासका रूपमा व्याख्या गरेका छन् । उनीहरूका अनुसार सरकारले परराष्ट्र नीतिमा एकीकृत नेतृत्व स्थापित गर्ने, फरक–फरक सन्देश जाने अवस्थालाई अन्त्य गर्ने तथा व्यक्तिकेन्द्रित कूटनीतिभन्दा राज्य–केन्द्रित संस्थागत कूटनीतिलाई प्राथमिकता दिने उद्देश्य लिएको संकेत यसबाट देखिन्छ ।

नेपाल भ्रमणका क्रममा कान्डाले एडीबीको लगानीमा सञ्चालन भइरहेका विभिन्न विकास आयोजनाको स्थलगत निरीक्षण पनि गर्नेछन् ।

प्रधानमन्त्री शाहले यसअघि अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलाका सहायक विदेशमन्त्री पल कपुर तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग व्यक्तिगत भेट गर्न अस्वीकार गरेका थिए ।

प्रधानमन्त्रीले भेट नदिएपछि भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण पनि स्थगित भएको थियो ।

व्यक्तिगत भेटघाटको सट्टा प्रधानमन्त्री शाहले सामूहिक कूटनीतिक संवादलाई प्राथमिकता दिएका छन् । उनले वैशाख ८ गते काठमाण्डुस्थित विभिन्न देशका कूटनीतिज्ञहरूसँग संयुक्त रूपमा भेट गरेका थिए ।

त्यसपछि जेठ २६ गते युरोपेली संघका २३ राजदूत तथा उपप्रमुखसहित अस्ट्रेलिया, रुस, थाइल्यान्ड, म्यानमार, संयुक्त अरब इमिरेट्स, नर्वे, फिनल्यान्ड, मलेसिया र ब्राजिलका प्रतिनिधिमण्डलसँग सामूहिक भेटवार्ता गरेका थिए ।

एडीबीसँग दुई महत्वपूर्ण सम्झौता हुने

कान्डाको भ्रमणका क्रममा नेपाल सरकार र एडीबीबीच दुईवटा महत्वपूर्ण वित्तीय सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

पहिलो सम्झौता ५ करोड अमेरिकी डलरको नीतिगत ऋणसम्बन्धी हुनेछ, जसको उद्देश्य नेपालका भन्सार प्रशासनलाई आधुनिकीकरण गर्नु, व्यापार सहजीकरण गर्नु तथा रोजगारी सिर्जनामा सहयोग पुर्‍याउनु हो ।

यस्तै नेपाल सरकार र एडीबीबीच एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्रीय) आयोजना सम्बन्धी ११ करोड ५० लाख अमेरिकी डलरको सम्झौतामा पनि हस्ताक्षर हुने सम्भावना छ ।

यस आयोजनाले जलवायु–अनुकूल खानेपानी सेवा तथा शहरी सरसफाइ प्रणाली विस्तार गर्ने लक्ष्य राखेको छ । यसअन्तर्गत ढल, फोहोरमैला तथा फोहोरजन्य लेदो व्यवस्थापनसमेत समावेश हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्