काठमाडौं । भोलि बिहान मेक्सिकोविरुद्ध हुने खेलका क्रममा इङ्गल्यान्डका खेलाडीले भियग्रा प्रयोग गर्न पाउने भएका छन् । २२ सय मिटरभन्दा माथिको उचाइमा खेल हुने भएपछि चिकित्सकीय सल्लाह बमोजिम अल्टिट्युड सिकनेससँग जुध्न उनीहरूले भियग्रा प्रयोग गर्न पाउने भएका हुन् ।
बेलायती पत्रिका द सनका अनुसार मेडिकल स्टाफले खेलाडीहरूलाई भियग्रा खाने अनुमति दिएको हो । एन्टी-डोपिङको नियमले खेलाडीहरूलाई यो औषधिको प्रयोग गर्न बन्देज लगाएको छैन ।
यौन दुर्बलताका लागि प्रयोग गरिने यो औषधि विश्व एन्टी-डोपिङ एजेन्सीको सन् २०२६ को प्रतिबन्धित औषधिको सूचीमा छैन । विभिन्न अध्ययन अनुसार भियाग्राले फोक्सोको रक्तचाप कम गर्न मद्दत गर्छ । जसका कारण धेरै उचाइ भएको स्थानमा हुने थकान र रिंगटा लाग्ने समस्या कम हुन्छ ।
इङ्गल्याण्डका खेलाडीहरूले यो औषधि प्रयोग गर्नेबारे केही बताएका छैनन् । तर, प्रशिक्षक थोमस टुचेल भने मेक्सिकोको भौगोलिक कठिनाइसँग जुध्न सबैखाले उपाय लगाउने तयारीमा छन् ।
इङ्गल्याण्ड र मेक्सिकोबीच भोलि बिहान पौने ६ बजे अन्तिम १६ को खेल हुँदैछ । यो खेल ऐतिहासिक ‘एज्टेका’ रंगशालामा हुँदैछ । यो रंगशाला समुद्री सतहबाट २,२०० मिटरभन्दा माथिको उचाइमा छ । यति धेरै उचाइमा बल निकै तीव्र गतिमा हावामा उड्छ र मैदानमा दौडधुप गर्न खेलाडीहरूलाई निकै कठिन हुन्छ । यस्तो उचाइमा हावामा अक्सिजन कम हुने भएकाले खेलाडीहरूलाई छिट्टै थकान हुने, सास फेर्न गाह्रो हुने समस्या आउन सक्छ ।
अर्कातिर मेक्सिकोका खेलाडीहरू यो उचाइमा खेल्न अभ्यस्त छन् । विगत ५६ वर्षमा मेक्सिकोले यो रंगशालामा खेलेका खेलहरूमध्ये दुईवटा खेलमा मात्र हार व्यहोरेको छ ।





