अमेरिकी आक्रमणपछि राष्ट्रसंघमा इरानको विरोध दर्ता, कडा चेतावनी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । अमेरिका र इरानबीच पछिल्लो महिना भएको युद्धविराम पूर्ण रूपमा भत्किएको जिकिर गरिएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अन्त्य भएको घोषणा गरेसँगै अमेरिकी सेनाले इरानविरुद्ध पुनः ठूलोस्तरको सैन्य कारबाही सुरु गरेको छ ।

गए राति अमेरिकी सेन्ट्रल कमान्डले इरानको दक्षिणी तटस्थित विभिन्न रणनीतिक सैन्य अड्डा तथा निगरानी केन्द्रलाई निसाना बनाउँदै भीषण हवाई आक्रमण गरेको जनाइएको छ । राष्ट्रपति ट्रम्पले ती आक्रमणसँग सम्बन्धित तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

अमेरिकी सेनाका अनुसार, उक्त कारबाही स्ट्रेट अफ होर्मुजमा व्यावसायिक जहाजमाथि हालै भएका इरानी आक्रमणको जवाफस्वरूप गरिएको हो । अमेरिकी सेन्ट्रल कमान्डले सामाजिक सञ्जालमार्फत भनेको छ, “अमेरिकाले इरानविरुद्ध थप आक्रमणहरू सुरु गरेको छ, ताकि स्ट्रेट अफ होर्मुजमा जहाजको स्वतन्त्रतालाई खतरा पुर्‍याउने उसको क्षमतालाई नष्ट गर्न सकियोस् ।”

nabil
यसैबीच, इरानले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् र महासचिवलाई अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा कायम राख्ने आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेको छ ।

साथै, इरानले अमेरिकालाई कडा चेतावनी दिँदै भनेको छ, “इरानका सशस्त्र बलले संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ५१ अन्तर्गत प्राप्त आत्मरक्षाको अधिकार प्रयोग गर्दै देशको क्षेत्रीय अखण्डता, राष्ट्रिय सार्वभौमसत्ता र सुरक्षामाथि हुने कुनै पनि आक्रमणको स्रोत र उत्पत्तिस्थललाई प्रत्यक्ष निसाना बनाउन पछि हट्ने छैन ।”

इरानको परराष्ट्र मन्त्रालयले अमेरिकी आक्रमणको कडा निन्दा गर्दै यसलाई सैन्य आक्रामकताको संज्ञा दिएको छ । मन्त्रालयले यी आक्रमण राष्ट्रसंघको बडापत्रका सिद्धान्त तथा दुई देशबीच युद्ध अन्त्यका निम्ति भएको समझदारीको खुला उल्लंघन रहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले उक्त क्षेत्रमा तनाव बढ्नुका साथै त्यसबाट उत्पन्न हुने जुनसुकै गम्भीर परिणामको पूर्ण जिम्मेवारी अमेरिकाले लिनुपर्ने चेतावनी पनि दिएको छ ।

यो युद्ध पुनः चर्किएको दाबी यस्तो समयमा गरिएको छ, जति बेला पश्चिम एसियामा तनाव निरन्तर बढिरहेको छ । यो घटनापछि विश्व ऊर्जा बजारमा हलचल देखिएको छ । विश्वको कुल तेल र प्राकृतिक ग्यासको करिब पाँचौँ हिस्सा स्ट्रेट अफ होर्मुजमार्फत ओसारिने भएकाले उक्त क्षेत्रमा उत्पन्न अस्थिरताले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा प्रत्यक्ष प्रभाव पार्ने विश्लेषण गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी