तेहरान । यमनका हुथी विद्रोहीहरूले लाल सागरमा चल्ने व्यापारिक जहाजहरूमा पुनः आक्रमण थालेको दाबी गरेका छन्। यस कदमले पहिले नै तनावग्रस्त बनेको पश्चिम एसियाको स्थितिलाई अझ भयानक मोडतिर धकेल्ने खतरा बढाएको छ।
बाब एल मन्डेब स्ट्रेट अफ होर्मुजबाट जहाजहरूलाई फर्काउन बाध्य पारेर हुथीहरूले युरोप र एसिया जोड्ने मुख्य समुद्री व्यापारिक मार्ग ठप्प पार्ने चेतावनी दिएका छन्।
यो घटना यस्तो समयमा भएको हो जब अमेरिका र इरानबिच एकअर्कामाथि हवाई हमला जारी छ भने साउदी अरबको आणविक उद्योग विकास गर्ने सम्झौताले यस क्षेत्रमा आणविक होडबाजीको त्रास बढाएको छ। सन् २०२६ पश्चिम एसियाका केही भागहरूका लागि पछिल्ला वर्षहरूकै सबैभन्दा हिंसात्मक वर्ष साबित भइरहेको छ।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले लगातार १३ रातदेखि इरानी सैन्य अखडा, ड्रोन भण्डारण, सञ्चार सञ्जाल र तटीय निगरानी क्षेत्रहरूमा हमला गरिरहेको छ। ‘नागरिक र व्यापारिक जहाजहरूमाथि इरानले निम्त्याएको खतरा कम गर्न इरानी सैन्य कमाण्ड सेन्टर, ड्रोन भण्डारण, सञ्चार सञ्जाल र तटीय क्षेत्रमा आक्रमण गरिएको हो,’ सेन्टकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
शान्त र न्यून करका लागि परिचित खाडी अरब देशहरू अहिले छिमेकी इरान र उसका समर्थित समूहहरूको निरन्तर आक्रमणको सामना गर्न बाध्य छन्। साउदी अरबसँग सन् २०२२ मा भएको युद्धविराम भङ्ग भएपछि यमनका इरान समर्थित हुथीहरू पनि यो द्वन्द्वमा होमिएका छन्। यसै साता हुथीहरूले लाल सागरमा दुई साउदी जहाजमाथि मिसाइल हानेका छन् भने साउदी बन्दरगाहमा नजान चेतावनी दिँदै अन्य १० वटा जहाजलाई फर्काइदिएका छन्।
इरानले स्ट्रेट अफ होर्मुज लगभग ठप्प पारेका कारण पहिले नै विश्वव्यापी ऊर्जा र मल आपूर्ति प्रभावित भइरहेको बेला बाब एल मन्डेबको नयाँ अवरोधले विश्व अर्थतन्त्रमा थप गम्भीर असर पार्ने देखिन्छ। साउदी अरबले आफूलाई अमेरिका-इरान युद्धबाट टाढा राख्न खोजेको थियो।
स्ट्रेट अफ होर्मुज बन्द भएपछि साउदीले पूर्व-पश्चिम पाइपलाइनमार्फत लाल सागरको यान्बु अल-बहर टर्मिनलसम्म तेल पठाएर एसियाली बजारमा निर्यात गरिरहेको थियो। तर, हुथीको धम्की र आक्रमणका कारण अब त्यो मार्ग पनि सुरक्षित रहेन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीहरूलाई ‘ठेगान लगाउने’ दाबी गरे पनि सम्झौताबिना यो असम्भव देखिन्छ। यमनको सादा सहर वरपरका शिया आदिवासी समूह हुथीहरूले सन् २०१४ मा राजधानी साना र पछि रणनीतिक बन्दरगाह होदैदा कब्जा गरेका थिए।
साउदी अरबले सन् २०१५ मा हुथीविरुद्ध युद्ध छेडे पनि लामो समयको बमबारीका बाबजुद हुथीहरूलाई परास्त गर्न सकेन। हुथीहरूसँग यमनको तटीय पहाडमा अनगिन्ती गुफा र सुरुङहरू छन्, जहाँबाट उनीहरूले सहजै समुद्री मार्गमा आक्रमण गर्न सक्छन्। सन् २०२३ देखि २०२५ सम्म पनि हुथीहरूले गाजाका सर्वसाधारणको समर्थनमा भन्दै इजरायलसँग जोडिएका जहाजमाथि आक्रमण गरेका थिए।
पश्चिम एसियाका अन्य देश इराक र सिरिया अहिले तुलनात्मक रूपमा शान्त छन् भने गाजा र लेबनानमा युद्धविराम र वार्ताको स्थिति छ। तर, खाडी र अरब प्रायद्वीपमा सङ्कट चुलिँदो छ। अमेरिकी आक्रमणले इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) लाई स्ट्रेट अफ होर्मुजको नियन्त्रण छोड्न बाध्य पार्न सकेको छैन।
अर्कोतर्फ, साउदी अरबलाई नागरिक आणविक ऊर्जा कार्यक्रम विकास गर्न अमेरिकी सहयोगको घोषणाले पश्चिम एसियामा सैन्य तनाव अझ बढाएको छ। साउदीले आणविक बम बनाउने सङ्केत नदिए पनि यसले टर्की र इजिप्टलाई पनि आणविक क्षमता बढाउन प्रेरित गर्ने र क्षेत्रीय असुरक्षा थप्ने चिन्ता उत्पन्न भएको छ। अमेरिका र इरानबिच दीर्घकालीन र पूर्ण सम्झौता नभएसम्म पश्चिम एसियामा अशान्तिको यो श्रृङ्खला लामो समयसम्म कायमै रहने देखिन्छ।





