भारतमा निर्वासनमा रहेकी शेख हसिनाको सम्बोधनबारे बंगलादेशले माग्यो भारतसँग स्पष्ट धारणा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

ढाका । बंगलादेश सरकारले भारतमा निर्वासनमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले नयाँ दिल्लीबाट गर्ने भनिएको भर्चुअल सम्बोधनबारे आफ्नो आधिकारिक धारणा स्पष्ट पार्न आग्रह गरेको छ । फरार अभियुक्तलाई भारतीय भूमिबाट राजनीतिक गतिविधि गर्न दिइए यसले दुई देशबीच सुधारोन्मुख सम्बन्धमा नकारात्मक असर पर्न सक्ने चेतावनी बंगलादेशले दिएको छ ।

विदेश मामिला राज्यमन्त्री शमा ओबैद इस्लामले सोमबार पत्रकारहरूसँग कुरा गर्दै बंगलादेश र भारतबीचको सम्बन्धलाई भविष्यतर्फ केन्द्रित गर्दै अघि बढाउन चाहेको बताइन् । उनले भारतले यस विषयमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिन् ।

पूर्वप्रधानमन्त्री हसिनाले आगामी अगस्ट ५ मा नयाँ दिल्लीस्थित ‘फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसिया (एफसीसीएसए)ले आयोजना गर्ने कार्यक्रममा भिडियोमार्फत सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा उनका छोरा सजीब वाजेद जोयसहित अन्य वक्ताहरू पनि सहभागी हुने जनाइएको छ ।

बंगलादेश सरकारले हसिना तथा अवामी लिगका अन्य नेताहरूले भारतीय भूमिबाट राजनीतिक अभिव्यक्ति दिइरहेको विषयमा यसअघि पनि भारतसँग पटक–पटक चासो व्यक्त गरेको जनाएको छ । इस्लामले भारत सरकारले फरार व्यक्तिहरूलाई आफ्नो भूमिबाट राजनीतिक गतिविधि गर्न नदिने संकेत दिएको दाबी गर्दै, आवश्यक परे यो विषय कूटनीतिक माध्यमबाट पनि उठाइने बताइन् ।

उक्त कार्यक्रम भारत सरकारले नभई स्वतन्त्र संस्थाले आयोजना गरेको भन्दै बंगलादेशले यस विषयमा थप संवादको आवश्यकता औँल्याएको छ । घटनाबारे भारतीय विदेश मन्त्रालयले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । गत वर्ष सरकारी जागिरमा आरक्षणको विरोधमा भएको विद्यार्थी आन्दोलन अनियन्त्रित बनेपछि हसिना भागेर भारत आएकी थिइन् ।

बंगलादेशले उनको प्रत्यर्पणको माग गर्दै आएको छ । सन् २०२५ मा २०२४ को आन्दोलन दमनका क्रममा भएको मानवताविरुद्धको अपराध सम्बन्धी मुद्दामा उनलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । संयुक्त राष्ट्रसंघका अनुसार उक्त आन्दोलनका क्रममा करिब १ हजार ४०० जनाको ज्यान गएको अनुमान गरिएको छ । हसिनाले भने आफूविरुद्धको फैसला कानुनी रूपमा अमान्य रहेको दाबी गर्दै आएकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी