सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मुख्यसचिवको तलब ९० हजार ५९४ रुपैयाँ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको तलबवृद्धिअनुसार राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरी लागू गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार यो व्यवस्था २०८३ साउन १ गतेदेखि नै लागू भएको हो।

नयाँ तलबमानअनुसार मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापतिको मासिक तलब ९० हजार ५९४ रुपैयाँ पुगेको छ। नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक तथा नेपाल सरकारका सचिवहरूको तलब ८४ हजार ५७६ रुपैयाँ कायम गरिएको छ।

सरकारी सेवाको सबैभन्दा तल्लो तहका प्रथम स्तरका कार्यालय सहयोगीको मासिक तलब २८ हजार ९८४ रुपैयाँ पुगेको छ।

सरकारले नयाँ तलबमानसँगै सबै कर्मचारीलाई तलबको १० प्रतिशत बराबर मासिक प्रोत्साहन भत्ता पनि उपलब्ध गराउने व्यवस्था गरेको छ।

सामुदायिक विद्यालयका माध्यमिक तह (प्रथम श्रेणी) शिक्षकको तलब ७४ हजार ९५८ रुपैयाँ तथा प्राथमिक तहका शिक्षकको न्यूनतम तलब ३४ हजार ४२६ रुपैयाँ पुगेको छ। स्वास्थ्य सेवातर्फ अधिकृत बाह्रौँ तहको तलब ८४ हजार ५७६ रुपैयाँ कायम गरिएको छ।

यस्तै, अवकाशप्राप्त कर्मचारीहरूको पेन्सन पनि १० प्रतिशतले वृद्धि गरिएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयले सबै सरकारी निकायलाई नयाँ तलबमानअनुसार भुक्तानी गर्न निर्देशन दिइसकेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी