तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको बीओपीमा क्षति

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२२ साउन, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बेस (बीओपी) मा क्षति पुगेको छ । मानवीय क्षति नभएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार गएराति १:१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २००/३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो झरेको थियो । पहिरोसँगै ढुंगाहरू उछिट्टिँदा बीओपी परिसरका विभिन्न संरचनामा क्षति पुगेको हो ।

पहिरोका कारण पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्ता र जस्ताको छानामा प्वाल परेका छन् ।

त्यस्तै, एउटा ड्युटी पोस्ट पूर्ण रूपमा र अर्को आंशिक रूपमा क्षतिग्रस्त भएको छ । राष्ट्रिय झण्डा राखिएको पोल पनि पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

बाथरुम, जिन्सी स्टोर भवन तथा मुख्य गेट अगाडिको सिँढीमा पनि क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी