प्रधानमन्त्रीको सम्बोधन फेसबुक भ्युज र मनिटाइजेसनमा केन्द्रित भएको एमालेको आरोप

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । विपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा गर्ने सम्बोधन सरकारी सञ्चार माध्यमभन्दा निजी फेसबुक पेजको भ्युज र मनिटाइजेसनमा केन्द्रित भएको आरोप लगाएको छ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा एमाले सचेतक निता घतानीले प्रविधिको प्रयोग सकारात्मक भए पनि राज्यका आधिकारिक निकायलाई बाइपास गरेर फेसबुकको भ्युज बढाउनेतर्फ प्रधानमन्त्री केन्द्रित हुनु दुःखद भएको बताइन्।

सांसद घतानीले प्रधानमन्त्री शाहले संसद्को रोस्टमबाट नेपालले पनि भारतको सीमा मिचेको आशयको अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाइन्। यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले कुन तथ्य, प्रमाण र कूटनीतिक आधारमा अभिव्यक्ति दिएको भन्दै उनले उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गरिन्।

उनले सरकार देशका विभिन्न वर्ग र समुदायले भोगिरहेका समस्याप्रति बेखबर रहेको आरोप पनि लगाइन्। सहकारी पीडितले बचत फिर्ताको पर्खाइमा रहेको, सुकुम्बासीहरू बासको समस्यामा रहेको र किसानले समयमै मल तथा उत्पादनको उचित मूल्य नपाएको उनको भनाइ थियो।

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन नसकेको, उपचार नपाएर गरिब नागरिकले ज्यान गुमाइरहेको तथा बजारमा ग्यासको अभाव र महँगी बढेको भन्दै उनले सरकारको आलोचना गरिन्। “बजारमा ग्यास छैन, तर सरकार कहाँ छ?” भन्दै उनले प्रश्न गरिन्।

त्यस्तै, राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा अस्पतालका सेवाका लागि नागरिकले अझै लामो लाइनमा बस्नुपर्ने अवस्था रहेको उनले बताइन्।

सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने विषयमा पछिल्लो समय भइरहेको बहसबारे पनि सांसद घतानीले प्रतिनिधि सभा बैठकमा टिप्पणी गरेकी छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी