न्युयोर्क । डेमोक्रेटिक रिपब्लिक अफ काङ्गोमा फैलिरहेको इबोलाको नयाँ सङ्क्रमण इतिहासकै सबैभन्दा घातक बन्ने दिशातर्फ गइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले पत्रकारहरूसँग कुरा गर्दै वर्तमान गति कायम रहेमा यो प्रकोपले सन् २०१४-२०१६ को महामारीलाई पनि जित्ने बताएका हुन्। उक्त महामारीमा कम्तीमा ११ हजार मानिसको ज्यान गएको थियो।
यस वर्षको मे १५ मा औपचारिक घोषणा गरिएको यो प्रकोपबाट हालसम्म ४ हजार ३ सय भन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन् भने २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
सङ्गठनले तीन महिनाभित्र भाइरसको फैलावटलाई नियन्त्रणमा ल्याउने आशा राखेको छ। तर यसको अर्थ महामारी पूर्ण रूपमा अन्त्य हुनु नभई सङ्क्रमणको दरलाई घटाउनु मात्र रहेको चेतावनी पनि दिइएको छ। मे महिनामा मात्र औपचारिक घोषणा गरिए पनि यो प्रकोप त्यसभन्दा तीन महिना अघि नै सुरु भइसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
प्रकोपको केन्द्रविन्दु नजिकै रहेको बूनिया सहरमा आयोजित पत्रकार सम्मेलनमा डब्ल्यूएचओका अफ्रिका निर्देशक डा. मोहामेद जनाबीले भने, ‘हामी भाइरसको पछि लागिरहेका छौँ, तर भाइरस हामीभन्दा अगाडि छ।’ अनुसन्धान अनुसार यो भाइरस फेब्रुअरीदेखि नै फैलिन सुरु भएको र सुरुमा यसलाई मलेरिया वा टाइफाइड भनेर गलत निदान गरिएको उनले बताएका छन्।
यो प्रकोप इबोलाको दुर्लभ ‘बुन्डिबुग्यो’ प्रजातिका कारण भएको हो। यो प्रजातिले यसअघि सन् २००७ र २०१२ मा गरी दुई पटक मात्र प्रकोप निम्त्याएको थियो। यस प्रजातिको उपचारका लागि अहिलेसम्म कुनै पनि स्वीकृत खोप वा आधिकारिक औषधि उपलब्ध छैन।
काङ्गोको पूर्वी भागमा रहेको अशान्त वातावरणका कारण स्वास्थ्यकर्मीहरूलाई नियन्त्रण अभियान चलाउन कठिन भइरहेको छ। जसका कारण स्वास्थ्यकर्मीहरू केवल ३० प्रतिशत सङ्क्रमितसम्म मात्र पुग्न सकिरहेका छन्।
इबोला एक दुर्लभ तर घातक भाइरसरोग हो, जसका लक्षणहरू सङ्क्रमण भएको २ देखि २१ दिनभित्र देखिने गर्छन्। सुरुमा ज्वरो आउने, टाउको दुख्ने र थकान महसुस हुने जस्ता सामान्य लक्षण देखिन्छन्। रोग बढ्दै जाँदा उल्टी हुने र पखाला लाग्ने भई शरीरका अङ्गहरूले काम गर्न छाड्छन्। यो भाइरस सङ्क्रमित व्यक्तिको रगत वा उल्टी जस्ता शारीरिक तरल पदार्थको सम्पर्कबाट एक व्यक्तिबाट अर्कोमा सर्छ।
यसैबिच बेलायतको औषधि नियामक निकाय (एमएचआरए) ले बुन्डिबुग्यो प्रजातिका लागि नयाँ खोपको मानव परीक्षण गर्न अनुमति दिएको छ। अक्सफोर्ड विश्वविद्यालयको टोलीले अक्सफोर्ड-एस्ट्राजेनेका कोभिड खोपकै प्रविधि प्रयोग गरेर यो खोप बनाइरहेको छ।
अन्य तीन समूहले पनि फरक खोपहरू विकसित गरिरहेका छन्, तर तिनको क्लिनिकल परीक्षण सुरु हुन बाँकी छ। डब्ल्यूएचओले पनि काङ्गोमा दुईवटा पुराना एन्टिभाइरल औषधिले बिरामीको ज्यान जोगाउन सक्छ कि सक्दैन भनेर छुट्टै क्लिनिकल परीक्षण गरिरहेको छ।





