२८ साउन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दाले जोरपाटीस्थित आत्तरखेलमा संचालित नेपाल मेडिकल कलेजमा उपचार गराउँदा १ लाख रुपैयाँसम्मको निःशुल्क उपचार सुविधा पाउने भएका छन्।
आज साउन २८ गते अस्पताल परिसरमा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेज, जोरपाटी, काठमाडौंबीच उपचारसम्बन्धी सम्झौता भएको हो। सम्झौताअनुसार नगरवासी बिरामी भई उपचार गर्नुपर्ने अवस्थामा अधिकतम १ लाख रुपैयाँसम्मको उपचार निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ।
सम्झौताअनुसार उपचार खर्चमध्ये ८५ प्रतिशत रकम गोकर्णेश्वर नगरपालिकाले उपलब्ध गराउने र बाँकी १५ प्रतिशत रकम नेपाल मेडिकल कलेजले छुट दिने उल्लेख छ। यसबाट नगरपालिकाका स्थायी बासिन्दालाई महँगो उपचार खर्चका कारण स्वास्थ्य सेवा लिन कठिन हुने अवस्था केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।
सम्झौता पछि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले नगरबासीको सुविधाका लागी नगर अस्पतालका अलवा नगर भित्र र बाहिरका १३ वटा अस्पताल सँग उपचार सम्झौता गरेर अघि बढेको बताए । उनले भने, “नगरबासीको स्वास्थ्य र शिक्षालाई निःशुल्क प्रदान गर्ने बाटोमा छौ । केन्द्रीय सरकारले गर्न नसकेको काम स्थानीय सरकारले गरेर देखाएका छौ ।” उपप्रमुख सान्नानी लामाले नागरिकको स्वास्थ्य उपचार पाउने अधिकारलाई केन्द्रमा राखेर नगरपालिकाले काम गर्दै आएको बताइन ।
नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनद्दिन अन्सारी, अस्पताल सन्चालक समिति सदस्य डा. भोला रिजाल, आनन्द प्रसाद श्रेष्ठ र प्रबन्ध निर्देशक डा. साबिहा यासमिनले सम्झौता अनुसारको उपचार सुविधा प्रदान गर्न अस्पताल प्रशासन प्रतिबद्ध रहेको बताए ।
नगरपालिकाले यसअघि पनि विभिन्न १२ अस्पतालसँग सहकार्य गर्दै नगरवासीलाई उपचारमा सहुलियत उपलब्ध गराउँदै आएको छ। गोकर्णेश्वर नगरपालिकाले नगरबासीको उपचारमा आवश्यक पर्ने ब्लड पनि निःशुल्क उपलब्ध गराउने भएको छ । ब्लड डोनेसनको लागी हरेक कार्यक्रमलाई २५ हजार उपलब्ध गराउदै आएको नगरपालिकाले विगत ३ वर्ष देखि निःशुल्क ब्लड उपलब्ध गराउदै छ ।





