गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाललाई ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड’ (तस्विरहरु)

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

३१ साउन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसाललाई शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६’ प्रदान गरिएको छ।

थाइल्यान्डको पटायास्थित सियामिज होटलमा अगस्ट १० मा आयोजित ‘नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल’ तथा ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६’ समारोहमा नगर प्रमुख रिसाललाई ‘एक्सिलेन्स ग्लोबल एसिया नेपाल मेयर अवार्ड इन एजुकेसन एन्ड हेल्थ’ बाट सम्मान गरिएको हो।

शिक्षा तथा स्वास्थ्य क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै समुदायमा उल्लेखनीय योगदान पुर्‍याएको, व्यावसायिक उत्कृष्टता प्रदर्शन गरेको तथा समर्पित सेवामार्फत सकारात्मक प्रभाव सिर्जना गरेको भन्दै रिसाललाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

विश्व वाइड प्रोडक्सन मिडिया प्रालि र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

सम्मानपछि नगर प्रमुख रिसालले शिक्षा र स्वास्थ्यलाई स्थानीय सरकारको प्राथमिकतामा राखेर काम गर्दै आएको बताए। गोकर्णेश्वर नगरपालिकाले पछिल्लो समय स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य बिमा, अस्पताल सेवाको सुधार तथा शिक्षातर्फ छात्रवृत्तिलगायतका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।

नगरपालिकाले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

रिसाललाई प्राप्त यो सम्मानले स्थानीय तहबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएका प्रयासलाई अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान दिलाएको नगरपालिकाले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी