काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली साहित्यका प्रखर सर्जक तथा जनकवि दुर्गालाल श्रेष्ठको निधनको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्।
जनकवि श्रेष्ठको निधनप्रति सामाजिक सञ्जाल फेसबुकमार्फत शोक व्यक्त गर्दै ओलीले काव्य कला क्षेत्रमा उनले पुर्याएको योगदानप्रति उच्च सम्मान व्यक्त गरेका हुन्।
‘फूलको आँखामा फूलै संसार–काँडाको आँखामा काँडै संसार’ र ‘सय थरी बाजा एउटै ताल–सय थरी गोडा एउटै चाल’ जस्ता सयौँ कालजयी रचनामार्फत उनले मानिसहरूको मनमा कहिल्यै नमेटिने छाप छाडेको ओलीले उल्लेख गरेका छन्।
जनकवि श्रेष्ठ अब भौतिक रूपमा माझ नरहे पनि उनका अमर गीत र कविताहरू सधैँ गुन्जिरहने ओलीको भनाइ छ। ओलीले जनकवि श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन तथा साहित्यानुरागीहरूमा गहिरो समवेदना व्यक्त गरेका छन्।





