काभ्रेमा जिप दुर्घटना, २ जनाको मृत्यु

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१, स्याउलीथलीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

पनौती–तालढुंगा भित्री सडकखण्डअन्तर्गत सोमबार नम्बर नखुलेको जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा कलबहादुर माझीको मृत्यु भएको छ भने अर्का एक मृतकको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। जिपमा सवार ताराबहादुर माझी भने हाम फालेर ज्यान बचाउन सफल भएका छन्। उनी सामान्य घाइते छन्।

गम्भीर घाइतेको उद्धारका लागि हेलिकप्टर झिकाउन समन्वय भइरहेको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताएका छन्।

उद्धारका लागि फलामेटार, तालढुंगा र ढुंखर्कबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

जिपको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्