विद्युत् प्राधिकरणको नाफा ३ अर्ब ८७ करोडले घट्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको आम्दानी बढे पनि नाफामा कमी आएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणको करअघिको नाफा ५ अर्ब ४ करोड रहेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा खुद नाफा ४३ प्रतिशत अर्थात् ३ अर्ब ८७ करोडले कमी हो । उक्त आर्थिक वर्षमा प्राधिकरणको कर अघिको नाफा ८ अर्ब ९१ करोड रूपैयाँ थियो ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले विद्युत् बिक्री र अन्य आम्दानीबाट १ खर्ब ६६ अर्ब रुपैयाँ कुल आम्दानी गरेको छ ।

जसमध्ये विद्युत् बिक्रीबाट मात्र प्राप्त आय अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा १८.२० प्रतिशतले वृद्धि भई १ खर्ब ४८ अर्ब ६२ करोड भएको छ ।

प्राधिकरणले समग्र कार्यसम्पादनमा गरेको सुधार, विद्युत् चुहावटको न्यूनीकरण, विद्युत् निर्यातमा भएको वृद्धि लगायतका कारणले आम्दानीमा सुधार भएको श्रेष्ठको भनाइ छ । कुल सञ्चालन नाफा गत वर्षको तुलनामा ७.२८ प्रतिशतले वृद्धि भएको प्राधिकरणले जनाएको छ ।

विदेशी विनिमय दर वृद्धिका कारण प्राधिकरणले व्यहोर्नुपर्ने दायित्व अघिल्लो आर्थिक वर्षको तुलनामा २७२.८६ प्रतिशतले वृद्धि भई ११ अर्ब ५१ करोड पुगेको श्रेष्ठले बताए ।

ह्रास कट्टी तथा ब्याज खर्चमा भएको वृद्धि, इम्पेयरमेन्ट नोक्सानी (खर्च) का लागि गरिएको व्यवस्थासमेतका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफामा केही कमी भएको उनको भनाइ छ ।

आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा नेपालको कुल जडित् विद्युत उत्पादन क्षमता ४ हजार १ सय २० मेगावाट पुगेको छ । गत आर्थिक वर्षमा मात्रै ५ सय २९ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप भएको छ।

प्राधिकरणका विद्युत ग्राहकको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ३.८५ प्रतिशतले वृद्धि भई ५९ लाख २७ हजार पुगेको छ । कुल ग्राहक संख्यामध्ये घरेलु ग्राहकको हिस्सा ९०.६४ प्रतिशत, औद्योगिक ग्राहकको हिस्सा १.२० प्रतिशत र अन्य ग्राहकहरूको हिस्सा ८.१६ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ ।

आन्तरिक विद्युत खपत ९.२७ प्रतिशतले वृद्धि भएको छ भने विद्युत् चुहावट अघिल्लो आर्थिक वर्षको १२.२६ प्रतिशतबाट घटेर १२.१६ प्रतिशतमा कायम भएको छ ।

गत आर्थिक वर्षमा नेपालले १० अर्ब ५६ करोड विद्युत् आयातमा खर्च गरेको छ भने २९ अर्ब ३१ करोडको विद्युत निर्यात गरी आम्दानी गरेको प्राधिकरणले जनाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६८ प्रतिशतले बढी हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्